लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाको छैठौँ नगर सभाको बिहिवार समापन गरिएको छ ।
असार १० गते उद्घाटन गरी आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक नीति, कार्यक्रम र बजेट पारित गर्दै नगर सभाको बिहिवार समापन गरिएको हो । सभाले १ अर्ब ४ करोड ७९ लाख ५२ हजार ८ सय ८६ रुपैयाँ बराबरको बजेट पारित गरेको मेयर मानबहादुर खड्काले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।
नगर सभा सदस्यहरुबाट पारित गरिएका वार्षिक नीति, कार्यक्रम र बजेट आगामी साउन १५ भित्र सबै सरोकारवालाहरुलाई उपस्थित गराई औपचारिक हिसाबले सार्वजनिक गरिने मेयर खड्काले जनाए ।
अहिलेको बजेट हालका जनप्रतिनिधिहरुको कार्यकालको अन्तिम बजेट समेत हो । नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले नगरपालिकालाई ज्ञापन पत्र नै बुझाएर बजेटलाई जनमुखी र समावेशी बनाउन माग गरेका थिए ।
मेयर खड्काले १७ वटै वडालाई समान हिसाबले अतिआवश्यक क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको जानकारी दिए ।
नगरपालिकाले स्वास्थ्य सेवामा सुधार एवं पहुँच, शैक्षिक विकास, भौतिक पूर्वाधार, कृषि तथा पशुपंक्षी विकास, वातावरण संरक्षण एवं विपद् व्यवस्थापन, रोजगारी सिर्जना लगायतलाई बजेटमा प्राथमिकता दिइएको जनाएको छ ।