logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लखन्देही खोलाले नन्देश्वर सामुदायिक वनको करिव ३ बिघा जमिन कटान


  • उज्यालो अभियान

नवलपुर – लखन्देही खोलामा आएको बाढीले सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा नन्देश्वर सामुदायिक वनको करिव ३ बिघा जति जग्गा कटान गरेको छ ।

एक साताअघिको भीषण वर्षापछि खोलामा आएको बाढीले वनको अढाई÷३ बिघा जमिन बगाएर बगरमा परिणत गरेको वन उपभोक्ता समितिका अध्यक्ष उदय बहादुर कार्कीले बताए । खोलामा बाढी आएर यसरी ठूलो क्षति पु¥याउन सक्ने अवस्था रहेको भन्दै १५ दिनअघि नै वडा कार्यालय, नगरपालिका र जनताको तटबन्ध कार्यालयमा जानकारी गराए पनि कुनै सुनुवाई नगर्दा वनको जग्गा कटान गरेको अध्यक्ष कार्कीले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।

अहिले कटान भएको क्षेत्रमा मजबुद ढंगले तटबन्ध नकसे नवलपुरका बस्तीहरुमा नै बाढी पसेर बितण्डा मच्चाउने अवस्था आउन सक्ने कार्कीको भनाई छ । सानो बाढीमै ठूलो क्षति पुगिसकेकाले अब बाढी बढेर आउँदा थप भयावह अवस्था सिर्जना हुन सक्ने भन्दै स्थानीयवासीले त्रास व्यक्त गरेका छन् ।

बाढीले ३ बिघा जति जग्गा कटान गर्दा झण्डै एक हजार विरुवा बगाएको वन उपभोक्ता समितिले जनाएको छ । लालबन्दी नगरपालिका वडा नं. १ का वडाध्यक्ष पन्चलाल स्याङ्बोले कटान भएको क्षेत्रमा निरन्तर चार दिन जेसीबी लगाएर ड्याम कस्ने काम गरेको बताए ।

उनले खोलालाई पूरानै अवस्थामा फर्काउन कटान गरिएको क्षेत्रतर्फ माटो भरिएको जानकारी उज्यालोकर्मी खत्रीलाई जानकारी दिए । तर तत्कालै ठूलो बाढी आएको खण्डमा नवलपुरस्थित लखन्देही खोला किनारमा निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशन र मानव बस्ती जोखिममा पर्ने अवस्था रहेको वडाध्यक्ष स्याङ्बोले बताए ।