logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

दुई जनाले पानीको निकास रोक्दिँदा ५० जना किसानको धान खेत डुबानमा


  • उज्यालो अभियान

कल्भडको निकास रोकेर बनाइएको टहरा र सँगै डुबानमा परेका धान खेत ।

गोडैता – पानीको निकास नपाउँदा सर्लाहीको दक्षिणी भेगस्थित गोडैता नगरपालिका–१२, मधुवनीमा ५० जना भन्दा बढी किसानको धान खेत डुबानमा परेको छ ।

मधुवनीबाट मिठुअबा र बहादुरपुरतर्फ जाने भित्री सडकमा स्थानीय रमतुल्ला अन्सारी र शहीद अन्सारीले पानी निकास गर्न बनाइएको सानो कल्भडको निकास नै बन्द हुने गरी माटो हुरेर टहरा निर्माण गरेपछि किसानको खेत डुबानमा परेको हो ।

पानीको उचित निकासका लागि स्थानीय प्रशासन र जनप्रतिनिधिलाई बारम्बार गुहारिरहेको भएपनि सुनुवाई नभएको स्थानीय किसान ललन सिंहले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए । आफूहरुको पीडाबारे प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई समेत अवगत गराएको सिंहले जानकारी दिए ।

उनले वर्षौदेखि पानीको निकास हुने कल्भडको अहिले आएर निकास बन्द गरिएको बताए । सिंहका अनुसार धनकौल गाउँपालिकाको हरकठवादेखि बग्दै जाने मनुषमारा खोलाको पानी र वर्षाको पानी समेत निकास हुन पाएको छैन् ।

आफ्नो मात्रै दुई बिघाको धान खेत डुबानमा परेको उनले गुनासो गरे । डुबानमा परेको सयौँ बिघामा भर्खरै रोपिएको धान गलेर काम नलाग्ने अवस्थामा पुगेको किसानहरुले गुनासो गरेका छन् ।

यता, गोडैता नगरपालिका–१२, का वडाध्यक्ष शम्भु प्रसाद कुशवाहाले उज्यालो अभियानकर्मी खत्रीसँगको कुराकानीमा रमतुल्ला अन्सारीलाई पानीको निकास बन्द हुने गरी टहरा नबनाउन आग्रह गरेपनि अटेर गरेको बताए । आफू प्रहरी लिएर निकास बन्द गरिएको ठाउँमा पुगेपनि रमतुल्ला अन्सारी प्रायः भारततर्फ बस्ने गरेकाले भेट हुन नसकिरहेको वडाध्यक्ष कुशवाहाको भनाई छ ।

शहीद अन्सारी भने गाउँमै रहेका भएपनि वडाध्यक्षले पनि निकासका लागि खासै समन्वय नगरेको स्थानीय पीडित किसानहरुले आरोप लगाएका छन् ।