सहभोजमा सहभागीहरु ।
हरिपुर – छुवाछुतलाई निरुत्साहित गर्ने उद्देश्यले हिजो (सोमवार) हरिपुर नगरपालिका–७, चिताईन मुसहर बस्तीमा सहभोज गरिएको छ ।
कार्यक्रममा दलित र गैरदलितले सँगै बसेर भोज खाएका छन् । समाजमा पुस्तौदेखि कायम रहेको जातीय विभेदलाई चूनौति दिँदै सहभोज कार्यक्रम आयोजना गरिएको जी.पी. कोइराला फाउण्डेसन सर्लाहीका सभापति सुशील शर्माले बताए ।
फाउण्डेसनले गिरिजा प्रसाद कोइरालाको ९८ औँ जन्म जयन्तिको अवसर पारेर तराईको अत्यन्तै पिछडिएको मुसहर बस्तीमा सहभोजको आयोजना गरेको हो । सहभोजमा गैरदलितसँग बसेर भोज खाना पाउँदा स्थानीय मुसहर समुदाय दङ्ग परेका छन् ।
सहभोजमा सो बस्तीका ३२ परिवार मुसहर सहभागी भएका थिए । उनीहरुसँगै जी.पी. कोइराला फाउण्डेसनका जिल्ला सभापति शर्मा, नागरिक समाजका अगुवाहरु रजनिकान्त झा, शिवचन्द्र चौधरी, सुन्दर श्याम यादव, दलित अधिकारकर्मी राजेश पासवान लगायतले भोज खाएका छन् ।
कार्यक्रमका वक्ताहरुले संविधानले समेत दण्डित गरेको जातीय विभेद अझै पनि समाजमा विकराल रुपमा रहेको भन्दै चिन्ता व्यक्त गरेका कार्यक्रम संचालक नेविसंघका नेता युवराज देवकोटाले जानकारी दिए ।