लालबन्दी – लालबन्दी नगरपालिकाभित्रका १० वटा वडामा घट्ना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर सम्पन्न गरिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागसँगको समन्वयमा लालबन्दी नगरपालिकाले वडा नं. १ देखि १० सम्म उक्त शिविर संचालन गरेको हो । जसमा १६० जनाले घटना दर्ता र १०५ जनाले सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता गराएका नगरपालिकाको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा शाखाकी कर्मचारी सुस्मिता गौतमले उज्यालो अभियानलाई जानकारी दिईन् ।
गौतमका अनुसार अहिलेसम्म सबैभन्दा धेरै वडा नं. २ मा २१ जनाको घटना दर्ता र २२ जनाको सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता गरिएको छ । यस्तै, सबैभन्दा कम वडा नं. ९ मा ७ जनाले घटना दर्ता गराएका छन् भने २ जनाले सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता गराएका छन् ।
सोही किसिमको शिविर आजबाट वडा नं. ११, १२ र १३ मा सुरु गरिएको गौतमले बताईन् । नगरपालिको दुर्गम क्षेत्रमा पर्ने वडा नं. १४ नारायणखोलामा भने खोलामा बाढी आइरहेकाले तत्काल त्यहाँ गएर शिविर संचालन गर्न सक्ने अवस्था नरहेको गौतमले बताईन् ।
उनका अनुसार प्रत्येक वडाको दुई स्थानमा तीन÷तीन दिन शिविर संचालन गरिँदै आएको छ । नेपाल सरकारले जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद, बसाइँसराई र सामाजिक सुरक्षा भत्ताबाट कोही पनि बन्चित नहुन् भन्ने उद्देश्यले गाउँ, बस्तीमै कर्मचारी खटाएर शिविर संचालन गरिरहेको हो ।