logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दक्षिणी क्षेत्रका भूभाग जलमग्न, सडक क्षतविक्षत : प्रदेश प्रमुख झाको कठिन यात्रा (फोटो फिचर सहित)


  • उज्यालो अभियान

प्रदेश दुई प्रमुख राजेश झा सहितको सवारी साधन नटप्ने भएपछि विष्णु गाउँपालिका स्थित सिमरा–फेनरा नाकाबाट हुलाकी सडक जोड्ने सडकको खाडल सम्याईदै ।
मलंगवा नगरपालिका अन्तर्गत भाँडसर गाउँ स्थित बुधबार बिहान डुबानमा परेको खेतीयोग्य जमिन ।

मलंगवा – दुई दिनयता भएको वर्षाले सर्लाहीको दक्षिणी क्षेत्र जलमग्न हुन थालेको छ । त्यस्तै सडकहरु भत्केर क्षतविक्षत बनेका छन् ।

डुबानको जोखिममा रहेको मलंगवा नगरपालिका अन्तर्गत भाँडसर गाउँ स्थित एक घर ।

विशेष गरी मलंगवा नगरपालिका अन्तर्गत भाँडसर क्षेत्रमा बुधबार बिहानैदेखि जलमग्न बनेको छ । त्यहाँ हालसम्म खेतीयोग्य सयौं विगाह जमिन डुबानमा परिसकेको छ । अब वर्षा बढ्दै गए भाँडसर क्षेत्रका बस्ती नै डुबानमा पर्ने खतरा रहेको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय सहितका क्षेत्रमा पनि सामान्य पानी पर्दासमेत डुबानको समस्या हुँदै आएको छ । जिल्लाको अन्य क्षेत्रमा हालसम्म डुबान र कटानको समस्याबारे जानकारी नआएको प्रउ राठौरले बताए ।

हुलाकी सडक अन्तर्गत झिम पुल नजिकको सडकबाट बुधबार बिहान सदरमुकाम मलंगवातर्फ आउँदै गरेको प्रदेश दुई प्रमुख राजेश झा सहित सबार सबारीसाधनहरु ।

त्यस्तै सदरमुकाम मलंगवादेखि पूर्वी संग्रामपुरसम्मको हुलाकी सडक तथा दक्षिण भारतीय नाकासम्म जाने सहायक सडकहरु वर्षाको पानीले क्षतविक्षत पारेको छ । दर्जनौं ठाउँमा ठूलाठूला खाडल एवं चिप्लो माटोका कारण सवारी आवागमनका निकै समस्या भोग्नु परिरहेको स्थानीय बासिन्दाले बताएका छन् । सदरमुकाम मलंगवादेखि पश्चिमको हुलाकी सडक पूर्वी भेकको तुलनामा केही राम्रो भएपनि सिमा नाका जाने भित्री सडकहरुको भने हाल बेहाल छ । वर्षाले गर्दा बागमती लगायत खोलाहरुमा पानीको बहाव बढेको छ । पानीको सतह बढ्दै गएकाले बागमती नदी स्थित सिंचाई ब्यारेजका सबै (३६ वटा) ढोकाहरु खोलिएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

पर्सा गाउँपालिका स्थित हुलाकी सडकको अवस्था ।

प्रदेश दुईका प्रमुख राजेश झाले भारतीय सिमा नाकाको स्थलगत भ्रमण गर्ने क्रममा बुधबार अत्यन्त कठिन यात्रा गर्नु परेको थियो । सानो कारमा यात्रारत प्रमुख झा पटक–पटक सवारीबाट ओर्लिएर पैदल यात्रा गरेका थिए । विष्णु गाउँपालिका स्थित सिमरा फेनरा नाकाबाट हुलाकी सडकतर्फ फर्कने क्रममा प्रदेश प्रमुख झा चढेको सहित सबै जीपहरु नटप्ने चिप्लो माटो सहितको ठूलो खाडल बनेपछि स्काभेटर नै मगाएर बाटो सम्याउनु परेको थियो । विशेषगरी वर्षातको बेला खेत जोत्ने ट्याक्टरहरु बढी गुड्ने र अझ ट्याक्टर हिलोमा नफसोस् भनेर चक्कामा राखिने फलामको रिङ हालेका ट्याक्टरले झन बढी सडकमा क्षति पुर्याउने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

क्लिक गरेर यी समाचार पनि पढ्नोस्

भारतीय सिमामा जंगे पिलर खोज्दै प्रदेश प्रमुख झा (फोटो फिचर सहित)

अविरल वर्षापछि घर भत्किएर किच्दा तीन घाईते

एक स्थानीयले भने देशका ठूलाठूला पदधारीहरुले कठिन यात्रा गर्नुपर्दा आम नागरिकले भोग्नु परेको कठिनाई महसुस हुने भएकाले सडकको स्तरोन्नती हुने सम्भावना प्रति समेत आशा व्यक्त गरे ।

बाढी र डुबानबाट हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै उद्धारका लागि सुरक्षा निकायको टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ । सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बाढी एवं डुबानका बेला उद्धार गर्न ठाउँ ठाउँमा आवश्यक साधन सहित टोली तयारी अवस्थामा राखिएको बताए । केही दिनअघि मात्र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा बागमती स्थित तालमा उद्धार अभ्यास गरेका थिए भने सशस्त्र प्रहरीले प्रदेश दुईका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको प्रमुख आतिथ्यतामा प्रदर्शन नै गरेको थियो ।