गत वर्ष डुबानमा परेको भाडसर गाउँ ।
मलंगवा – अविरल वर्षाको पानीले घर भत्किएर किच्दा सर्लाहीको मलङ्गवा नगरपालिका-६, खुटौनामा तीन जना घाईते भएका छन् ।
गएराती २ बजेतिर महेशी रामकी श्रीमती सुशीला देवी महराको खपडाले छाएको दुई तले कच्ची घर भत्किएको हो । घर भत्किएर किँच्दा घरधनी ५० वर्षीया सुशीला देवी, रवीन्द्र रामकी २६ वर्षीया रेखा देवी र रेखाकी छोरी २ वर्षीया अर्चना महरा घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घाईतेहरुको जिल्ला अस्पताल मलंगवामा उपचार चलिरहेको छ । घरमा १० जना सुतेको भएपनि अरुले भने भागेर ज्यान जोगाएका छन् ।
यस्तै, वर्षात्को पानीले चन्द्रनगर गाउँपालिका-५, मोहनपुर बस्ने मोलाजिम मन्सुरको फुसले छाएको दुई तले कच्ची घर भत्किएको छ । घर भत्किँदा मानवीय तथा चौपायको क्षति भने भएको छैन् ।
यसैगरी, अविरल वर्षाको पानीले हरिवन नगरपालिका-३, ढापटोल बस्ने सरु पाठकको दुई तले काठको घर भत्किएको छ ।
दुई दिनदेखि रातको समयमा भइरहेको भारी वर्षाले केही बस्तीहरुमा पानी पसेको छ ।
सँधै डुबानमा पर्ने सदरमुकाम मलङ्गवास्थित भाडसरका केही घरहरुमा वर्षाको पानी पसेको प्रहरीले जनाएको छ । भारी वर्षाले गर्दा बागमतीलगायत खोलाहरुमा पानीको बहाव बढेको छ ।