वडाध्यक्ष श्रेष्ठ ।
बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकाभित्रका सबै कार्यालयहरु आज (सोमवार) एक दिनका लागि बन्द गरिँदै छ ।
वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको निधनमा दुःख व्यक्त गर्दै आज नगरपालिका कार्यालय, १५ वटै वडा कार्यालयहरु र नगरपालिका मातहतमा पर्ने अन्य सबै कार्यालयहरु बन्द गर्ने निणर्य भएको मेयर मनोज कुमार देवकोटाले जानकारी दिए ।
यस्तै, वडा नं. ३ को वडा कार्यालय आज, भोली र पर्सी तीन दिन बन्द गर्ने नगर कार्यापालिका बैठकले निणर्य गरेको छ ।
वडाध्यक्ष श्रेष्ठको गत सुक्रवार राती जेसिबीको बकेटले हिर्काएर हत्या गरिएको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
उनीहरु विरुद्ध आइतवार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
घटनाका सम्वन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।