logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रदेश प्रमुख झाले गरे घरमै पुगेर समाजसेवी टमबहादुर घिसिङलाई सम्मान


  • उज्यालो अभियान

टमबहादुर घिसिङलाई सम्मान गर्दै प्रदेश प्रमुख राजेश झा (बायाँ) । (तस्बिर : उज्यालो अभियान)
खानेपानी आयोजनाको निरीक्षण गर्दै प्रदेश प्रमुख राजेश झा । (तस्बिर : उज्यालो अभियान)

हरिवन – प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले आज(बुधबार) साँझ सर्लाहीको हरिवन नगरपालिका–१, अत्रौली निवासी समाजसेवी टमबहादुर घिसिङलाई सम्मान गरेका छन् ।

चुरे फेदी स्थित ग्रामीण क्षेत्रमा बसेर विकास निर्माण लगायत अन्य सामाजिक क्षेत्रमा व्यक्तिगत हिसाबले स्वतस्फुर्त रुपमा अत्यन्त सकृय बनेको भन्दै प्रदेश प्रमुख झाले साँझ घिसिङलाई उनको घरमै पुगेर माला र दोसल्ला पहिर्याएर सम्मान गरेका हुन् । प्रमुख झाले १ घण्टा भन्दा बढी समय घिसिङको घरमा बसेर विकटता एवं काम गराईका क्रममा भोग्नु परेका चुनौती आदि बारेमा उनकै मुखबाट सुनेका थिए । त्यस्तै झाले घिसिङकै नेतृत्वमा अत्रौली लगायत चुरे क्षेत्रमा खानेपानी वितरणको अवस्था एवं खानेपानी आयोजनाको निरीक्षण समेत गरे ।

निस्वार्थ भावनाका साथ स्वतस्फुर्त निरन्तर समाजसेवामा लागिरहने नेपालको एक असल नागरिकको रुपमा आफूले सम्मान गरेको उल्लेख गर्दै प्रदेश प्रमुख झाले घिसिङलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । नेपाली सेनाबाट २०५२ सालमा अवकाश पाएका घिसिङको नेतृत्वमा अत्रौली, विलन्दी, सखुबनी लगायत चुरे क्षेत्रका बासिन्दालाई खानेपानी, बिजुली, पुल पुलेसा लगायत सेवा सुविधा क्रमशः प्राप्त हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन् । रामअवतार मावि व्यवस्थापन समितिको अध्यक्षको रुपमा समेत घिसिङले उक्त विद्यालयमा निकै सुधार गरेको स्थानीय बताउँछन् । कोही सहयोगको आश गरेका दिन दुःखी देख्ने वितिकै घिसिङ अत्यन्त उत्साहित हुँदै सेवामा जुटि हाल्छन् ।

नेपाली कांग्रेसका जिल्ला सदस्य समेत रहेका घिसिङको सकृयतामा चापिनीबाट पटौना हुँदै अत्रौली जोड्ने पुल समेत निर्माण भईसकेको छ । कांग्रेसमा क्रियाशिल भएपनि घिसिङ अन्य जुनसुकै पार्टीमा मतदान गर्ने सर्बसाधारणलाई समेत आपत विपतमा सहयोग गर्न एक कदम अगाडी सरिहाल्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।