प्रतिकात्मक तस्बिर ।
मलंगवा – ईट्टाभट्टाले खन्दा बनेकाे खाडलमा जमेकाे पानीमा डुबेर एकै घरका दाजुभाईकाे मृत्यु भएकाेे छ ।
मलंगवा नगरपालिका-११, गम्हरिया निवासी सद्दाम अन्सारीका छाेराहरु ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारीकाे मृत्यु भएकाे हाे । प्रहरीका अनुसार बाख्रा चराउन गएकाे बेला पल्सी भन्ने ठाउँमा ईट्टाभट्टाले खन्दा बनेकाे खाडलमा जमेकाे पानीमा पाैडी खेल्न दुई दाजुभाई सँगै पसेका थिए । बुधबार बिहान साँढे ११ बजे दुई दाजुभाई डुबेपछि उनिहरुसँगै बाख्रा चराउन गएका अर्का बालकले हल्लीखल्ली गरेपछि गाउँलेले घटनाबारे थाहा पाएका हुन् ।
तत्काल ईट्टाभट्टाका मजदुर र गाउँले मिलेर डुबेका दुई बालकलाई निकालेर उपचारका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पुर्याएका थिए । अस्पतालमा पुर्याउँदा उनिहरुकाे मृत्यु भईसकेकाे बताईएकाे छ ।
ईट्टाभट्टा संचालक पत्ता लगाउने तथा घटनाबारे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ ।