प्रहरी नायब उपरीक्षक उद्यव सिंह भाटलाई सम्मान गर्दै कांग्रेस नेता डा. अमरेश कुमार सिंह । (तस्बिर सौजन्य : गजेन्द्र साह)
भवानीपुर– नेपाली कांग्रेसका नेता एवं सर्लाही क्षेत्र नं. ४ का विघटित प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह जनता समाजवादी पार्टी (जसपा) का नेताको घरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्मानित भएका छन् ।
जसपा बसबरिया गाउँपालिका अध्यक्ष गजेन्द्र साहको घरमा सोमबार आयोजित कार्यक्रम कांग्रेस नेता डा. सिंहको प्रमुख आतिथ्यतामा भएको थियो । एकता समाज कृषक समुह भवानीपुर र बेरोजगारी युवा कृषक समुह मानपुरद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. सिंहले ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्यव सिंह भाट र सशस्त्र प्रहरी बल मनुष्मारा बेसक्याम्पका सशस्त्र प्रहरी निरीक्षक धरबेन्द्र सिंह भण्डारीलाई दोसल्ला ओढाएर कदर पत्र सहित सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै डा. सिंह ले आफूले चुनावको समयमा गरेको बाचा अनुसारका कार्यहरू पूरा गर्न लागि परेको र आफ्नै पार्टीका केही नेताहरु को जनविरोधी कार्यको कारण काम गर्न समस्या भइरहेको बताएको जसपा अध्यक्ष साहले जानकारी दिए । सर्लाही क्षेत्र नम्बर ४ का ८ वटा वडामा गुन्डागर्दी र डर त्रासको वातावरण श्रृजना भईहेको र त्यस्ता कार्यलाई जुनसुकै हालतमा तोड्ने चेतावनी समेत दिएको साहको भनाई छ ।
डा. सिंहले संघीय सांसद्मा निर्वाचित भईसकेको व्यक्ति भएकाले आफूले क्षेत्र भरिका जनताको घर–घरमा पुगेर गुनासो सुन्ने काम गरिरहेको र सोही अन्तर्गत जसपा नेता भएपनि क्षेत्रबासी भएकाले सोमबारको कार्यक्रममा सहभागि भएको बताएका छन् । सांसद्मा निर्वाचित भईसकेपछि आफू सबै पार्टीका नेता कार्यकर्ताहरुको अभिभावक भएको समेत डा. सिंहको कथन छ ।
स्मरण रहोस् गत असोजमा नेपाली कांग्रेसले मलंगवामा विरोध प्रदर्शन आयोजना गर्दा अश्रुग्याँस र लाठी चार्ज सहित बल प्रयोग गरेर दर्जनौं नेता कार्यकर्ता घाईते बनाएको भन्दै डा. सिंहले प्रनाउ भाटलाई कडा कार्बाहीको माग गरेका थिए । धनकौलमा पत्रकार सम्मेलन गर्दै डा. सिंहले जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर र प्रनाउ भाट विरुद्ध अदालतमा मुद्धा हाल्ने चेतावनी समेत दिएका थिए ।