बागमती – नेपाल पत्रकार महासंघ सर्लाही शाखाको बैठक हिजो (शनिवार) बागमतीमा बसेको छ ।
बागमती नगरपालिकाले निर्माण गरिरहेको १२१ बिघा क्षेत्रफलमा फैलिएको तालमा महासंघको जिल्ला कार्य समितिका सदस्यहरु डुंगा सयर गर्दै बैठकमा सहभागी भएका हुन् । प्रदेश सरकारले हिजो सोही तालमा आयोजना गरेको प्रदेश २ स्तरीय विपद् खोज उद्धार तथा प्रतिकार्य अभ्यास प्रशिक्षण प्रदर्शनकै अवसर पारेर महासंघ जिल्ला कार्य समितिको बैठक सम्पन्न गरिएको महासंघका जिल्ला अध्यक्ष टंक बहादुर क्षेत्रीले बताए ।
बैठकले महासंघका ६२ जना सदस्यको ७ लाख बराबरको औषधोपचार तथा एक लाख बराबरको घातक रोग उपचार बीमा गर्ने निणर्य अनुमोदन गर्दै छुट भएका सदस्यहरुको अब दोस्रो चरणमा बीमा गर्ने निणर्य गरेको छ ।
यस्तै, पत्रकार महासंघको भवन निर्माण तथा संचारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि तालिम संचालन गर्न आ-आफ्नो स्थानीय तहमा रकम माग गर्नका लागि समन्वय तथा पहल गर्ने, कोरोना संक्रमण कायमै रहेकाले स्वास्थ्य सावधानी अपनाएर रिर्पोटिङ गर्ने र कोरोना संक्रमणको अवस्थामा पत्रकारिता गर्दा पत्रकारहरुको स्वास्थ्यमा कुनै असर नहोस् भनेर स्वास्थ्य सामग्री उपलब्ध गराउने समाजसेवी एवं कांग्रेसका युवा नेता मनोज आचार्य लगायतलाई धन्यवाद ज्ञापन गर्ने निणर्य भएको महासंघका जिल्ला अध्यक्ष क्षेत्रीले जानकारी दिए ।