logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

विप्लवका तत्कालिन जिल्ला इन्चार्ज पौडेलको तेस्रो स्मृति सभा मनाइयो


  • उज्यालो अभियान

लालबन्दी – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तत्कालिन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको आज (शनिवार) तेस्रो स्मृति सभा मनाइएको छ ।

पौडेल दुई वर्षअघि २०७६ साल असार ५ गते नवलपुरको बागवानी केन्द्रदेखि केही उत्तर जंगलमा प्रहरीको कारवाहीमा परेर मारिएका थिए । प्रहरीले उनको दोहोरो भीडन्तमा मृत्यु भएको बताइरहेको छ भने परिवार र उनका पार्टीले भने नियन्त्रणमा लिएर निर्मम ढंगले हत्या गरिएको दावी गर्दै आएका छन् ।

हरिवन नगरपालिका-६, स्थित घुर्कौली चारलिकमा भएको कार्यक्रममा स्वर्गिय पौडेलको तस्बिरमा माल्यार्पण गर्दै उनले पुर्‍याएको योगदानबारे चर्चा गरिएको पार्टीका नेताहरुले बताएका छन् । पार्टीका जिल्ला सेक्रेटरी कमल सुशलिङको अध्यक्षता तथा सर्लाही र रौतहट इन्चार्ज समर शाहीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको संचालन जिल्ला सदस्य जनक राउतले गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य किसुनदेव शर्मा, अखिल नेपाल महिला क्रान्तिकारी जिल्ला अध्यक्ष प्रमिला लामा राउत, महिला नेतृ चेली मगरलगायतको उपस्थिति थियो ।

कोरोना संक्रमणका कारण कुनै भीडभाड नगरी सीमित नेता कार्यकर्ता उपस्थित भएर स्मृति सभा गरिएको पार्टीका जिल्ला सेक्रेटरी कमल सुशलिङले बताए ।