logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीका सेना, प्रहरी र सशस्त्र प्रहरीले गरे बाढी तथा डुबानमा उद्धार अभ्यास


  • उज्यालो अभियान

बागमती स्थित मानवनिर्मित तालमा उद्धार अभ्यासमा सहभागि सुरक्षाकर्मीहरु । (तस्बिर : उज्यालो अभियान)

बागमती – सर्लाही स्थित तीनवटा सुरक्षा निकायले वर्षा मौसममा बाढी र डुबान जस्ता संकटको अवस्थामा उद्धार गर्नका लागि आज(आईतबार) अभ्यास सम्पन्न गरेको छ ।

तीनवटै सुरक्षा निकयका सुरक्षाकर्मीले संयुक्त रुपमा बाढी र डुबान समयमा गरिने उद्धारको अभ्यास गरेका हुन् । बागमती नगरपालिकाको निर्माणाधिन तालमा दिउँसो भएको उद्धार अभ्यासमा दर्जनौं सुरक्षाकर्मीहरुले डुंगा चलाएर एवं एक–एकजना पौडी खेलेर पनि अभ्यास गरेका थिए ।

अभ्यासमा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, नेपाली सेना भैरवी दल पाँचकुमारीका गणपति प्रमुख सेनानी (कर्णेल) सरोज राना, नेपाल प्रहरीका उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ स्वयं पनि डुंगा चलाउने तथा पौडी खेलेर अभ्यासमा सहभागि बनेका थिए । कार्यक्रममा बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल लगायतको समेत उपस्थिती रहेको थियो ।

वर्षायाममा जिल्लामा बाढी तथा डुबानको समस्या बढ्ने भएकाले त्यसबेला कसरी उद्धार गर्ने ? भनेर पूर्व तयारी अभ्यास गरिएको सर्लाहीका प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । यस किसिमको अभ्यास भोली(सोमबार) पनि हुने बताइएको छ । प्रत्येक वर्षको बर्षायाममा सर्लाहीको दक्षिणी भेगका विभिन्न बस्तीहरु डुबानमा पर्दा करोडौंको धनमाल क्षति हुने गरेको छ । कतिपय वर्षमा त दर्जनौंको ज्यान समेत जाने गरेको छ ।