हरिवन – हरिवन नगरपालिकाले कोरोना भाईरस संक्रमण दर बुझ्नका लागि गाउँ–गाउँमै पुगेर एण्टिजेन परीक्षण तथा संक्रमितहरुको घर–घरमा पुगेर पोषण खानेकुरा वितरण अभियान जारी राखेको छ । अभियानको नेतृत्व गर्दै मेयर गणेशप्रसाद प्रसाईं आफै गाउँ–गाउँ खटिने गरेका छन् ।
यसैक्रममा सोमबार हरिवन नगरपालिकाको वडा नम्बर ८ मा स्थानीय शंकाष्पद् सर्बसाधारणको एण्टिजेन परीक्षण गरिएको छ भने परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आउने संक्रमितलाई पोषण खानेकुरा समेत वितरण गरिएको छ । बेताली स्थित जनजागृति मावि परिसरमा गरिएको परीक्षणमा ७ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको हरिवन नगरपालिका कोभिड फोकल पर्सन रामबाबु चौधरीले जानकारी दिए । चौधरीका अनुसार ३५ जना पुरुष र २३ जना महिला गरी ५८ जनाको एण्टिजेन परीक्षण गर्दा ७ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
त्यस्तै मेयर प्रसाईं, स्वास्थ्य समितिको संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेल लगायतले वडा नं. ८ का संक्रमितलाई पोषणयुक्त खानेकुरा, भिटामिन, औषधीहरु, स्वास्थ्य सुरक्षा सामग्री समेत प्रदान गरेका छन् । होम आईसोलेसनमा बसेका संक्रमितलाई प्रोटिन पाउडर, भिटामिन सी र बी कम्प्लेक्स, जिंक, सिटामोल तथा ५० थान सर्जिकल मास्क, सेनिटाईजर, डिटोल साबुन लगायत सामानहरु प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक शशिकान्त सिंहले जानकारी दिए । अन्य जनप्रतिनिधी, स्वास्थ्यकर्मी लगायतको टोलीले कोरोना भाईरस संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने उपायबारे सचेतना गराउँदै बालकदेखि वृद्धसम्मको ज्वरो नाप्ने लगायत काम समेत गरेको थियो ।
संक्रमित भईसकेकाहरुको मनोबल उच्च पार्न विभिन्न भिटामिन लगायत सामग्री वितरण तथा कोरोना भाईरस संक्रमण थप नफैलियोस् भन्दै गाउँ–गाउँमा पुगेर एण्टिजेन परीक्षण अभियान समेत सूरु गरिएको मेयर प्रसाईंले जानकारी दिए । उनले नगरपालिका अन्तर्गत ११ वटै वडा स्थित होम आईसोलेसनमा बसेका संक्रमितहरुको घर–घरमा पुगेर टोलीले आवश्यक सामग्री वितरण गर्ने तथा एण्टिजेन परीक्षण समेत गर्ने जानकारी दिए ।
गत शुक्रबार हरिवन नगरपालिका वडा नम्बर १ मा १९ पुरुष र १८ महिलाको एण्टिजेन परीक्षण गर्दा ६ पुरुष र ३ महिला गरि ९ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएका ९ जनालाई नै होम आईसोलेसनमा बस्न आग्रह गरिएको चौधरीले बताए । त्यस्तै एन्टिजेन गर्दा पोजेटिभ देखिएकाहरुको परिवारका सदस्य, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको सोमबार नै सासापुर स्थित कोभिड अस्थायी अस्पतालमा थ्रोट स्वाब संकलन समेत गरिएको चौधरीले बताए । बिहान ८ बजेदेखि ११ बजेसम्म ३७ जना पुरुष र ३० जना महिलाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाईएको छ । अब आगामी बिहिबार पनि सासापुरमै शंकाष्पद्हरुको थ्रोट स्वाब संकलन गरिने चौधरीले जानकारी दिए । शंका लागेका ईच्छुक सबै सर्बसाधारणलाई थ्रोट स्वाब दिनका लागि नगरपालिकाका मेयर प्रसाईंले आग्रह गरेका छन् ।
चौधरीका अनुसार हरिवन नगरपालिकाले कोरोना भाईरस संक्रमणको दोस्रो कहरकालयता हालसम्म ५१९ जनाको पीसीआर तथा ९३ जनाको एण्टिजेन परीक्षण गराईसकेको छ । जसमा २५१ जनालाई पोजेटिभ देखिएको छ । जिल्ला स्थित २० वटा पालिका मध्ये हरिवनले सबैभन्दा बढी परीक्षण गराएको छ भने कतिपय पालिकाले त एकजनाको पनि परीक्षण गराएका छैनन् । त्यस्तै हरिवनमा सासापुर स्थित अस्थायी कोभिड अस्पतालमा ४० बेड अनि सुखेपोखरी स्थित सर्लाही जिवन हेल्थ केयरमा ६० बेडको आईसोलेसन कक्ष सञ्चालनरत छ ।