मलंगवा – कोरोना भाईरसको दोस्रो भेरिएन्टको संक्रमण फैलन नदिनका लागि जिल्ला प्रशासन कार्यालय मलंगवाले सर्लाहीमा पुनः सात दिनका लागि अर्थात जेठ ३१ गते मध्यरातसम्म निषधाज्ञा आदेश थपेको छ ।
आज (मंगलबार) साँझ सम्पन्न जिल्ला काेभिड संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयलाई आधार मान्दै प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले आगामी जेठ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् । पहिलाेपटक गत वैशाख २५ गते राति १२ बजेबाट सूरु भएकाे निषेधाज्ञा आदेश निरन्तर पाचाैं पटक पनि जारी भएकाे हाे ।काेराेना भाईरस संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआईसकेकाे र मृतक संख्या पनि बढीरहेकाले थप सात दिन निषेधाज्ञा जारी राख्नुपर्ने डीसीसीएमसीकाे बैठकले निर्णय गरेकाे थियाे । साेही अनुसार प्रजिअ तामाङले निषेधाज्ञा आदेश जारी गरेका हुन् ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । प्रजिअ तामाङका अनुसार यसपटकको निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई भने हालै सरकारले जारी गरेको कोभिड संकट व्यवस्थापन अध्यादेश अन्तर्गत निकै कडा कार्बाही गरिने छ ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति कार्यालयले अघिल्लाे केही समयअघि कोभिड–१९ संकट व्यवस्थापन गर्न अध्यादेश ल्याएको छ । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गराउने, बिना काम बाहिर निस्कनेलाई दुईसय रुपैयाँ तिराउन सक्ने अध्यादेशमा व्यवस्था छ । अनुमतिबिना वा बिरामी ओसारपोसार गर्ने बाहेक सवारी साधन चलाए कडा कार्वाही गर्नसक्ने व्यवस्था पनि छ । अध्यादेशमा यस्तो अवस्थामा दुईपांग्रेलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।
निषेधाज्ञा अवधीभर अत्यावश्यक सेवा अन्तर्गत एम्बुलेन्स, शववाहन, खाद्य सामग्री/औषधी/कुखुराको चल्ला/पशुपंक्षीको दाना/पानी/दुध/इन्धन/फलफूल तथा तरकारी बोकेका सवारी साधनहरु, निर्माण सामग्री ढुवानीका सवारी साधन, सरकारी नम्बर प्लेटको दुई पांग्रे र चार पांग्रे सवारी साधन, झण्डाबाहक , कुटनीतिक नियोग, प्रेस पास प्राप्त सवारी साधनहरु चलाउन पाईने छ । त्यस्तै नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचय पत्र लगाएर हिँड्ने कर्मचार सवार भएका सवारी साधन, वैवाहिक कार्यक्रममा दुलाहा दुलही सवार दुईवटा सवारी समेत गरी बढीमा १५ जना जन्ती मात्र बोकेको सवारी साधन चलाउन पाईनेछ ।
त्यस्तै निषेधाज्ञा अवधीमा स्वास्थ्य, सुरक्षा, सञ्चघार, विद्युत, खानेपानी लगायत अत्यावश्यक सेवा, बैंक तथा वितीय संस्था (नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागू गरी), स्वास्थ्य संस्था, क्लिनिक, अस्पताल र औषधी पसल सञ्चालन गर्न पाईने छ । त्यस्तै पेट्रोल पम्प, खाद्यान्न, फलफूल, तरकारी, दुध डेरी, ग्याँस पसल (बिहान ७ बजेदेखि १० बजेसम्म) खोल्न पाईने निषेधाज्ञा आदेशमा उल्लेख छ । निषेधाज्ञा आदेशमा उल्लेखित सञ्चालन एवं खोल्न पाईने सेवा र व्यवसाय बाहेक अन्य कुनै पनि सवारी साधन एवं पसल एवं व्यापार एवं व्यवसाय सञ्चालन गर्न नपाईने र आदेशको उल्लंघन भए कडा कार्बाही गरिने प्रजिअ तामाङले चेतावनी दिएका छन् ।
निषेधाज्ञा आदेश जारी भएको समयमा विशेष गरी होटल, रेष्टुँरा, व्यूटिपार्लर, कपडा पसल, सैलुन, जीमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर र अन्य सबै पसल, हाटबजार चलाउन पाईने छैन । त्यस्तै व्यक्तिगत चार पांग्रे र दुई पांग्रे सवारी साधन एवं सार्वजनिक यातायातका सवारी साधन पनि चलाउन पाईने छैन ।
काेराेना भाइरस संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआईसकेकाले आम सर्वसाधारणको जनस्वाथ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मनन गरी कोभिड नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा लगाउनु परेको प्रजिअ तामाङले जानकारी दिए । प्रजिअ तामाङद्वारा हस्ताक्षरित निषेधाज्ञा सम्बन्धी आदेशमा समुदाय तथा व्यक्तिले अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको छ । निषेधाज्ञा पालना नगर्नेलाई कडा कार्वाही गरिने पनि चेतावनी दिइएको छ ।
मंगलबार दिउँसो जिल्ला समन्वय समितिको सभाहलमा जिसस प्रमुख मेथुर चौधरी र मलंगवा नगरपालिकाका मेयर निरसल साहकाे विशेष उपस्थिती तथा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, नेपाली सेनाका प्रमुख सेनानी सरोज राणा, नेपाल प्रहरीका उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिलिप सिंह, जिल्ला अस्पतालका मेसु नवलकिशाेर झा, जिल्ला जनस्वास्थ्य प्रमुख श्रवण नायक, मलंगवा अस्पताल पीसीआर ईन्चार्ज सुशील रयादव, उद्याेग वाणिज्य संघ मलंगवाका उपाध्यक्ष अरुण कुँवर, चेम्बर अफ कमर्स मलंगवाका काेषाध्यक्ष मुकेशकुमार प्रजापति, नागरिक समाजका अगुवा उग्रकान्त झा, बागमती सेवा समाजका गजेन्द्र साह लगायतकाे उपस्थितीमा जिल्ला संकट व्यवस्थापन केन्द्रकाे बैठक बसेकाे थियाे ।