हरिवनको सासापुर स्थित कोभिड अस्थायी अस्पताल । (तस्बिर : उज्यालो अभियान)
हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले गत साेमबार संकलन गरेको ५१ जनाको थ्रोट स्वाब मध्ये २१ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।
बुधबार आएकाे रिपाेर्ट अनुसार पोजेटिभ मध्ये ३ जना महिला भने पूरानै संक्रमित रहेकाे हरिवन नगरपालिका कोभिड फोकल पर्सन रामबाबु चौधरीले जानकारी दिए । संक्रमित मध्ये १९ जना हरिवनबासी एवं दुईजना हरिवन बाहिरका हुन् ।
त्यस्तै हरिवन नगरपालिकाले आज (विहिबार) पुन: थ्राेट स्वाब संकलन गर्दैछ । सासापुर स्थित कोभिड अस्थायी अस्पताल परिसरमा अहिले बिहान ८ बजेदेखि ११ बजेसम्म थ्राेट स्वाब संकलन गरिने चाैधरीले जानकारी दिए । कोरोना भाईरसको दोस्रो कहरकाल सूरु भएयता यो थ्रोट स्वाब संकलन हरिवन नगरपालिकाले सातौ पटक गरेको हो ।
हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले संक्रमितको परिवारका सदस्य, आफन्त एवं कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको निरन्तर थ्रोट स्वाब संकलन गरिने र कोरोना भाईरस संक्रमण फैलन नदिन यथाशकय पहल भईरहेको जानकारी दिए । जिल्ला स्थित कतिपय पालिकाहरुले भने अहिलेसम्म एकजनाको पनि थ्रोट स्वाब संकलन गरेका छैनन् ।
त्यस्तै हरिवनमा संचालन भईरहेकाे ससापुर स्थित काेभिड अस्थायी अस्पतालमा ३ महिला सहित ९ जना तथा सर्लाही जीवन हेल्थ केयर सुखेपाेखरीमा २ महिला सहित ९ जना उपचाररत छन् ।