logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाही अस्पताल र जनस्वास्थ्य प्रमुखको एकसाथ सरुवा


  • उज्यालो अभियान

सदरमुकाम मलंगवा स्थित सरकारी जिल्ला अस्पताल । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. संजिव सिंह र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख श्रवण नायकको सरुवा भएको छ ।

दुवैजनाको प्रदेश दुई सामाजिक विकास मन्त्रालय सरुवा भएको हो । प्रदेश दुई सामाजिक विकास मन्त्रालयले हाल अस्पतालको प्रमुख र जिल्ला जनस्वास्थ्य गरि दुवै कार्यालयका प्रमुखको रुपमा डा. नवलकिशोर झालाई खटाएको छ । सामाजिक विकास मन्त्रालयबाट खटिएका डा. झालाई अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेण्ट एवं जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमुखको जिम्मेवारी दिईएको छ ।

डा. झा बुधबार नै सर्लाही आएर जिल्ला अस्पताल तथा जिल्ला जनस्वास्थ्य कार्यालयको अवस्था बुझेका छन् भने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ लगायत सरोकारवालाहरुसँग भेटघाट समेत गरेका छन् । आगामी आईतबारबाट कार्यभार सम्हाल्ने डा. झाले उज्यालो अभियानलाई जानकारी दिए । सर्लाहीकै बलरा निवासी डा. झाले यसअघि पनि जिल्ला अस्पताल मलंगवा, प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा र हरिपुर लगायतमा काम गरिसकेका छन् ।

विगत पौने दुई वर्षदेखि सर्लाही अस्पतालको प्रमुखको रुपमा कार्यभार सम्हालेका डा. सिंह तथा गत कात्तिकदेखि जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमुखको रुपमा कार्यभार सम्हालेका नायकको भने सामाजक विकास मन्त्रालय सरुवा भएको छ । नायकले प्रमुखको जिम्मेवारी सम्हालेपछि जनस्वास्थ्य कार्यालयमा भने कर्मचारीबीच केही विवाद देखिएको थियो । नायकले बजेटहरु पारदर्शी तथा कर्मचारीलाई नियमित काममा खट्नका लागि कडाई गरेपछि जनस्वास्थ्यका केही कर्मचारीहरु उनी विरुद्ध लागेको स्रोतले जनाएको छ । सरुवा भएका नायकले हाल सर्लाहीमा कोभिशिल्डको दोस्रो डोज खोप चलिरहेको र उक्त खोप कार्यक्रम सम्पन्न भएपछि आफू जनकपुरतर्फ लाग्ने बताएका छन् ।