ईश्वरपुर – छिमेकी पूरुषलाई पेट्रोल छर्किएर आगो लगाएको अभियोगमा पक्राउ परेका एक जोडी मध्ये श्रीमान पूर्पक्षका लागि कारागार चलान भएका छन् भने श्रीमति धरौटी जमानीमा छुटेकी छिन् ।
सर्लाहीको उत्तरी चुरे क्षेत्र स्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथान नयाँटोलका ३५ वर्षीय शिवजी साहलाई कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतले सोमवार पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । त्यस्तै साहकी श्रीमति ३० वर्षीया सुनिता देवी साहलाई भने अदालतले २५ हजार रुपैंया धरौटीमा छाडेको छ ।
प्रहरीका अनुसार साहले गत बैशाख २० गते वैदेशिक रोजगारीबाट आएको भोलीपल्टै छिमेकी ५८ वर्षीय शियाशरण रायलाई शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । आगोले जलेर गम्भीर घाईते भएका रायको उपचारका क्रममा बैशाख २१ गते काठमाडौंमा मृत्यु भएको थियो । रायलाई धनुषाको लालगढमा सामान्य उपचार गरी, त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पु¥याइएको थियो ।
घटना लगत्तै फरार भएका शिवजीलाई प्रहरीले छ दिनपछि सीमावर्ती भारतीय गाउँबाट पक्राउ गरेर सर्लाही ल्याएको थियो । शिवजीले आफ्नी श्रीमतीविरुद्ध अर्नगल हल्ला फिजाँएको भन्दै शियाशरणमाथि आक्रमण गरेको प्रहरी समक्ष बयान दिएका थिए । प्रहरीले कर्तव्य ज्यान मुद्धामा शियाशरण र सुनितालाई मुद्धा चलाएको थियो ।
शिवजीलाई हाल बयलवासस्थित ईलाका प्रहरी कार्यालय केशरगञ्जको हिरासतमा राखिएको र अदालतबाट पूर्पक्षमा कारागार चलान गर्ने आदेश भएनुसार खाली रहेको कारागारमा पठाउने गरी समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
अदालतले शिवजीकी श्रीमती ३० वर्षीया सुनिता देवी साहलाई भने २५ हजार रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ । अदालतको आदेश अनुसार सुनिताका आफन्तले सोमबार अदालतमा उपस्थित भएर धरौटी रकम बुझाउन सकेनन् । तर आज (मंगलबार) भने आफन्तले अदालतमा उपस्थित भएर धरौटी रकम बुझाएपछि सुनिता हिरासतमुक्त भएको प्रहरी स्रोतले जनाएको छ ।