logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हेर्नोस्, नयाँ बजेटमा सर्लाही


  • उज्यालो अभियान

सर्लाही जिल्लाकाे नक्शा ।

हरिवन – चुनावी सरकारका अर्थमन्त्री विष्णु पौडेलले शनिबार साँझ आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट घोषणा गरेका छन् ।

सरकारले अध्यादेश मार्फत आगामी आर्थिक वर्षका लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । जसमा संघीय सरकारको चालु खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ । जुन कुल बजेटको ४१.२ प्रतिशत हो । त्यस्तै संघीय पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ। जुन् कुल बजेटको २२.७ प्रतिशत हो ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ अर्थात १२.६ प्रतिशत विनियोजन गरिएको छ भने प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने रकम ३ खर्ब ८६ अर्ब ७१ करोड अर्थात २३.५ प्रतिशत रहेको छ ।

संघीय बजेट अन्तर्गत सर्लाही सदरमुकाम मलंगवामा सघन शहरी विकास कार्यक्रम अन्तर्गत सडक, ढल, खानेपानी, मनोरञ्जनपार्क, बसपार्क, शिक्षा तथा स्वास्थ्य क्षेत्रका शहरी पूर्वाधार आयोजना कार्यान्वन गर्ने उल्लेख छ । त्यस्तै सर्लाही सहित ७३ जिल्लाका अति विपन्न, लोपान्मुख र सीमान्तकृत वर्गका लागि जनता आवास कार्यक्रम अन्तर्गत निर्माणाधिन घरहरु आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गरी हस्तान्तरण गर्ने बजेटमा प्रतिवद्धता जनाईएको छ ।

त्यसैगरी हुलाकी राजमार्गको निर्माण कार्य आगामी आर्थिक वर्ष भित्रै सक्ने र बागमती नदीमा पुल समेत बनाउनका लागि बजेट छुट्टयाईएको अर्थमन्त्री पौडेलले जनाएका छन् । त्यस्तै सुनकोशी–मरिन नदी पथान्तरण आयोजनाबाट पहिलो चरणमा सर्लाही सहित रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा र सिराहा जिल्लामा खानेपानी आपूर्ति गर्नेगरी आयोजनाको विकास गर्ने बजेटमा उल्लेख छ ।

त्यसैगरी लखन्देही खोलामा नदी नियन्त्रण र पहिरो व्यवस्थापनमा नवीन तथा बायो ईन्जीनियङि प्रविधिको प्रयोग गर्दै जनताको तटबन्ध कार्यक्रमलाई निरन्तरता दिईएको छ । सर्लाही सहित धनुषा, महोत्तरी र रौतहट जिल्लामा सिंचाई सुविधा उपलब्ध गराउन सुनकोशी–मरिन बहुद्धेश्यीय नदी पथान्तरण आयोजनाको टनेल निर्माण कार्यलाई तीब्रता दिईने र आगामी आर्थिक वर्ष भित्रै हेडकक्र्स र विद्युतगृह निर्माण सूरु गरिने अर्थमन्त्री पौडेलले घोषणा गरेका छन् ।

त्यसैगरी उखु किसानलाई दिईने सरकारी अनुदान अन्तर्गत चिनी उद्योगलाई उखु बिक्री गरेको १५ दिनभित्रै अनुदान प्राप्त गर्न बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ । सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो ।

यता सागरनाथ वन विकास परियोजनाको मूर्तिया क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनका लागि सम्भाव्यता अध्ययन गर्ने बजेटमा उल्लेख छ । जबकी आर्थिक वर्ष २०७३/०७४ कै बजेट घोषणाबाट मूर्तियामा मुलुककै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन भईरहेको छ । अर्थ मन्त्री पौडेलले थप कार्यक्रम घोषणा नगरी पुनः सम्भाव्यता अध्ययनमै मात्र सिमित गरेका छन् । जबकी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ साल पुस तिरै मूर्तिया क्षेत्रमा स्थापना हुने औद्योगिक क्षेत्रको डीपीआर सकेर माथिल्लो निकायमा फाईल पेस गरिसकेको थियो भने वातावरणीय प्रभाव मुल्यांकन (ईआईए)को काम अगाडी बढाएको थियो । मूर्तियामा १९८४.०३ हेक्टर अर्थात २९२९.४८ बिगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने तयारीका साथ प्रकृया अगाडी बढिसके पनि यो बीचमा काम केही सुस्ताएको छ ।

यो बाहेक स्थानीय तहलाई आउने अनुदान लगायत अन्य शिर्षकका बजेटले पनि सर्लाहीको विकास निर्माणलाई सम्बोधन गर्ने नै छ ।