क्लबका अध्यक्ष स्याङबालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै आचार्य (दायाँ)। (तस्बिर : उज्यालो अभियान)
सागरनाथ – कोरोना भाईरसको दोस्रो भेरियण्टको संक्रमणबाट आम सर्बसाधारणलाई जोगाउन भन्दै ईश्वरपुर नगरपालिका निवासी नेपाली कांग्रेसमा आवद्ध समाजसेवी समेत रहेका मनोज आचार्यले आईतबार लाखौं मुल्यका स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् ।
कोरोना भाईरस संक्रमित भएर नगरभन्दा बाहिर उपचारका लागि लैजान र नजिकको संस्थागत आईसोलेशन सम्म पुर्याउन सहज होस् भन्दै आचार्यले निःशुल्क एम्बुलेन्स सेवा समेत सञ्चालन गर्न स्थानीय सन सागरनाथ युवा क्लबलाई जीप उपलब्ध गराएका छन् । एम्बुलेन्स आवश्यक पर्नेले ९८४४०९३४११, ९८०८८९८८३४ तथा ९८१३४९१५०० मा सम्पर्क गर्न समेत आचार्यले आग्रह गरे । सर्भीस फर पीस नेपाल हरिवनको एम्बुलेन्सलाई कोरोना भाईरस संक्रमणको जोखिम रहुञ्जेल क्लबले सञ्चालन गर्नेगरी आचार्यले पैसा तिरेर व्यवस्था मिलाईदिएको बताईएको छ ।
त्यस्तै , कार्यक्रममा आचार्यले क्लबलाई पीपीर्इ २० थान, नेबुलाईजर ५ थान, पल्स अक्सोमिटर १० थान, फेस सिल्ड २०० थान, एन ९५ मास्क १००० थान, सेनिटाईजर ३० लिटर, ईन्फ्रारेड थर्मामिटर ५ थान लगायतका सामग्री प्रदान गरेका थिए । क्लबका अध्यक्ष जनकलाल स्याङबाले सहयोगी मनका धनी आचार्यप्रति आभार प्रकट गरेका छन् । सागरनाथ माविमा आयोजित कार्यक्रममा कांग्रेसका स्थानीय नेता जगत नाराण श्रेष्ठ, मदन वि।क, धनलाल गोले, हरिबहादुर कटुवाल, प्रेम सिंह लगायतको उपस्थिती रहेको थियो । आचार्यले यसअघी कोरोना भाईरस संक्रमणको अघिल्लो कालमा समेत जिल्लामा ठूलो परिमाणमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका थिए । आचार्यले सर्लाहीका पत्रकारहरुका लागि समेत केही स्वास्थ्य सुरक्षा सामग्री आफूलाई उपलब्ध गराएको नेपाल पत्रकार महासंघ सर्लाहीका सदस्य प्रकाश मैनालीले जानकारी दिए ।