हरिवनको सासापुर स्थित कोभिड अस्थायी अस्पताल । (तस्बिर : उज्यालो अभियान)
हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नं. ७ मा एउटै परिवारका १४ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।
घुर्कौलीको कुशवाहा टोला स्थित एउटै परिवारका ५१ वर्षीय हजुरबुबा देखि ९ वर्षीया नातिनी सम्म गरी १४ जना संक्रमित भएका हुन् । नगरपालिकाले गरेको परीक्षणमा उक्त वडामा हालसम्म जम्मा १५ जना मात्र संक्रमित देखिएकामा एउटै परिवारका १४ जनालाई पोजेटिभ देखिएको छ । वडा नं. ७ का वडाध्यक्ष नेत्रप्रसाद मैनालीले कुशवाहा टोलमा एउटै परिवारमा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
सुरुमा वैशाख २९ गते परीक्षण गराउँदा घरमूली ५१ वर्षीय पूरुषका भाई बुहारीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यस पश्चात जेठ ५ र ७ गते परिवारका अन्य सदस्यको परीक्षण गर्दा थप १२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै हरिवन नगरपालिका वडा नं. ११ मा पनि एउटै परिवारमा ५ जनासम्म संक्रमित भएको वडाध्यक्ष शेख मेहबुब रेजाले जानकारी दिए । त्यस्तै हरिवन नगरपालिका वडा नं. ११ मा पनि एउटै परिवारमा ५ जनासम्म संक्रमित भएको वडाध्यक्ष शेख मेहबुब रेजाले जानकारी दिए ।
कोरोना महामारीको दोस्रो कहरकालमा हरिवन नगरपालिका सर्लाहीमै सबैभन्दा बढी आफ्ना नागरिकलाई कोरोना भाईरस परीक्षण गराउने पालिका हो । हरिवन नगरपालिका आफैले यो समाचार तयार पार्दासम्म हरिवनबासी एवं हरिवन स्थित बैंक तथा वितिय संस्था एवं सरकारी एवं गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारी सहित ४८६ जनाको परीक्षण गराईसकेको छ । हरिवन नगरपालिकाले ४५२ जनाको पीसीआर तथा ३४ जनाको एन्टिजेन गराएको र जसमा २१० जना पीसीआर एवं ३१ जना एन्टिजेन पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । हरिवन नगरपालिकाले शुक्रबार संकलन गरेको २४ जनाको थ्रोट स्वाबको रिपोर्ट भने अझै आईसकेको छैन ।
हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले संक्रमितको परिवारका सदस्य, आफन्त एवं कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको निरन्तर थ्रोट स्वाब संकलन गरिने र कोरोना भाईरस संक्रमण फैलन नदिन यथाशकय पहल भईरहेको जानकारी दिए ।