logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

संक्रमितको घर-घरमा पोषण र स्वास्थ्य सुरक्षा सामग्री पुर्याउँदै हरिवनका मेयर प्रसाईं


  • उज्यालो अभियान

शनिबार साँझ हरिवन नगरपालिका–७ कुशवाहा टोल स्थित एकै परिवारका १४ जना संक्रमित रहेको घरमा पुगेर खाद्यान्न एवं पोषण र स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै मेयर गणेश प्रसाद प्रसाईं नेतृत्वको टोली । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले कोरोना भाईरस संक्रमितको घर घरमा पुगेर स्वास्थ्य सुरक्षा सामग्री एवं पोषण खानेकुरा वितरण सूरु गरेका छन् ।

मेयर प्रसाईंले आज (शनिबार) साँझ हरिवन नगरपालिका वडा नं ७ स्थित १४ जना संक्रमित भएका परिवारलाई भेटेर चामल, स्वायविन, नुन तेल लगायत खाद्यान्न, स्वास्थ्य सुरक्षा सामग्री एवं पोषणयुक्त खानेकुरा प्रदान गरेका छन् । आर्थिक रुपमा विपन्न एवं घरमुलीहरु अपांग भएकाले उक्त परिवारलाई खाद्यान्न समेत सहयोग गरिएको नगरपालिकाले जनाएको छ । अन्य संक्रमितलाई भने पोषण एवं स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिने मेयर प्रसाईंले जानकारी दिए । यस उज्यालो अभियान अनलाईनमा आजै (शनिबार) दिउँसो हरिवन–७ मा एकै परिवारका १४ जना संक्रमित भन्ने समाचार प्रकाशन भएको थियो ।

यो पनि पढ्नोस्

हरिवनमा एउटै परिवारका १४ जनालाई कोरोना पोजेटिभ

मेयर प्रसाईं सहित उपमेयर रेणुका पौडेल, सासापुर हेल्थपोष्ट प्रमुख श्याम विनोद कुशवाहा, नेकपा एमाले नेता कृष्ण श्रेष्ठ लगायत संक्रमित परिवारको घरमा पुगेका थिए । टोलीले संक्रमितहरुलाई अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा, खानपान आदि बारेमा सचेतनामूलक सल्लाह समेत दिएको थियो ।

अब क्रमशः नगरपालिका भित्रका सबै संक्रमितको घर–घरमा पुगेर पोषण खानेकुरा सहित स्वास्थ्य सुरक्षा सामग्री वितरण एवं आवश्यक स्वास्थ्य सल्लाह दिईने मेयर प्रसाईंले जानकारी दिए । ‘अब क्रमशः कोरोना भाईरसबाट संक्रमित नगरबासीहरुको घर–घरमा पुगेर पोषण खानेकुरा एवं स्वास्थ्य सुरक्षा सामग्री दिँदै छु’, शनिबार साँझ उज्यालो अभियानसँग कुरा गर्दै मेयर प्रसाईंले भने, ‘संक्रमितहरुको मनोबल उच्च बनाउन र कोरोना भाईरस संक्रमणलाई थप भयावह हुन नदिनका लागि घर–घरमा पुग्ने छु ।’

त्यस्तै मेयर प्रसाईंले होम आईसोलेशनमा बस्ने क्रममा केही अफ्ठ्यारो महसुस हुने वितिकै आफूलाई खबर गर्न समेत कोरोना भाईरस संक्रमित एवं सम्बन्धित परिवारका सदस्यहरुलाई आग्रह गरेका छन् । ‘होम आईसोलेशनमा बस्नु भएका संक्रमितलाई स्वास्थ्यमा केही अफ्ठ्यारो हुने वितिकै मेरो मोबाईलमा तुरुन्त खबर गर्नुहोला’, मेयर प्रसाईंले आश्वस्त पार्दै भने, ‘अक्सिजन सहितको उपचार व्यवस्था भएको सासापुर स्थित कोभिड अस्थायी अस्पतालमा वा अझ गम्भिर अवस्था भए थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउन पहल गर्नेछौं ।’

केही दिनदेखि मेयर प्रसाईंले थ्रोट स्वाब दिएपछि कोरोना भाईरस पोजेटिभ आउने संक्रमितको मोबाईलमा म्यासेज समेत पठाउने गरेका छन् । ‘नमस्कार, म मेयर गणेश प्रसाईं हजुरको स्वास्थ्य अवस्था अहिले कस्तो छ ? स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य र पौष्टिक खानेकुरा खानुका साथै सरसफाईमा ध्यान दिँदै उच्च मनोबलका साथ रोगलाई छिट्टै परास्त गर्नु हुनेछ भन्ने विश्वास लिएको छु, कुनै थप स्वास्थ्य समस्या परेमा ९८५४३०३७४९९ वा ९८४५१३५४६९ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।’ भन्दै मेयर प्रसाईंले कोरोना पोजेटिभ संक्रमितको मोबाईल नम्बरमा म्यासेज गर्ने गरेका हुन् । बिरामीको मनोबल उच्च बनाउन र थप हौसला प्रदान गर्न म्यासेज पठाउने व्यवस्था मिलाईएको मेयर प्रसाईंले जानकारी दिए ।

कोरोना महामारीको दोस्रो कहरकालमा हरिवन नगरपालिका सर्लाहीमै सबैभन्दा बढी आफ्ना नागरिकलाई कोरोना भाईरस परीक्षण गराउने पालिका हो । हरिवन नगरपालिका आफैले यो समाचार तयार पार्दासम्म हरिवनबासी एवं हरिवन स्थित बैंक तथा वितिय संस्था एवं सरकारी एवं गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारी सहित ४८६ जनाको परीक्षण गराईसकेको छ । हरिवन नगरपालिकाले ४५२ जनाको पीसीआर तथा ३४ जनाको एन्टिजेन गराएको र जसमा २१० जना पीसीआर एवं ३१ जना एन्टिजेन पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हरिवन नगरपालिकाले शुक्रबार संकलन गरेको २४ जनाको थ्रोट स्वाबको रिपोर्ट भने अझै आईसकेको छैन ।

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले संक्रमितको परिवारका सदस्य, आफन्त एवं कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको निरन्तर थ्रोट स्वाब संकलन गरिने र कोरोना भाईरस संक्रमण फैलन नदिन यथाशकय पहल भईरहेको जानकारी दिए । हाल हरिवन नगरपालिकाले सञ्चालन गरेको सासापुर स्थित कोभिड अस्थाई अस्पतालमा ७ जना संक्रमित उपचाररत छन् भने अन्य होम आईसोलेशनमा रहेका छन् ।

२० वटा स्थानीय तह रहेको सर्लाही स्थित कतिपय पालिका प्रमुखले आफ्नो पालिकामा आईसोलेसन सेन्टर स्थापना त परैजाओस्, कोरोना भाईरस परीक्षणका लागि पालिकाबासीको थ्रोट स्वाब नै संकलन सूरु गरेका छैनन् । तर हरिवनका मेयर प्रसाईंले नगरबासीको थ्रोट स्वाब संकलनलाई तिव्रता दिएका छन् भने आईसोलेसन सेन्टर समेत सञ्चालनमा ल्याएका छन् । कोरोना भाईरस संक्रमण नियन्त्रण अभियान एवं नगरबासीको सुरक्षाका लागि अहोरात्र लागि परेका मेयर प्रसाईंको कार्यशैली प्रति प्रतिपक्षी नेपाली कांग्रेसका नेता कार्यकर्ता एवं नागरिक समाज, प्रशासनिक एवं सुरक्षा अधिकारीले समेत प्रशंसा गर्दै आएका छन् ।