मलंगवा – सर्लाहीमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट पाँच जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै सर्लाहीका मृत्यु हुनेको संख्या ५७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
सर्लाहीमा कोरोना संक्रमणका कारण विहिबार ज्यान जानेको संख्या शून्य रहेको भएपनि शुक्रबार भने पुनः पाँच जनाको ज्यान गएको छ । शुक्रबार दिउँसो आएको तथ्यांक अनुसार हरिवन नगरपालिका–७ निवासी ७९ वर्षीय एक पूरुषको काठमाडौंमा उपचार गर्दागर्दै, मलंगवा नगरपालिका–५ निवासी ७६ वर्षीय पूरुषको नेशनल मेडिकल कलेज वीरगंजमा, मलंगवा नगरपालिका–३ निवासी ७० वर्षीया महिला र कबिलासी नगरपालिका–३ निवासी ४८ वर्षीया महिलाको नारायणी अस्पताल वीरगंजमा उपचार गर्दागर्दै तथा बरहथवा नगरपालिका–५ निवासी ६८ वर्षीय पूरुषको तराई अस्पताल वीरगंजमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।
हालसम्म मृत्यु भएका मध्ये सर्लाही भित्रै ९ जनाको तथा अन्य ४७ जनाको जिल्ला बाहिरका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताईएको छ । त्यस्तै शुक्रबार आएको नयाँ रिपोर्ट अनु्सार सर्लाहीका ६९ जना कोरोना भाईरस पोजेटिभ देखिएका छन् । योसँगै सर्लाहीमा संक्रमित हुनेको संख्या १४ सय २५ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय, मलगंवाले कोरोना भाईरस संक्रमण विवरणको दैनिक बुलेटिन मार्फत जिल्लाका थ्रोट स्वाबबाट २०३० जनाको पीसीआर जाँच गर्दा १३१० जना तथा ४२३ जनाको एन्टिजेन परीक्षण गर्दा ११५ जना गरी जम्मा १४२५ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी गराएको हो । त्यस्तै जिल्लाका १७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।