बुधबार दिउँसो बरहथवामा बसेको सर्वपक्षीय बैठकका सहभागिहरु ।
बरहथवा – कोरोना भाईरस संक्रमणको दोस्रो कहरकाल अन्तर्गत बरहथवामा पहिलो पटक शंकाष्पदहरुको थ्रोट स्वाब संकलन गरेर परीक्षण गराउँदा ७१ प्रतिशत भन्दा बढी कोरोना भाईरस संक्रमित फेला परेपछि बजार क्षेत्रमा थप कडाई गर्ने निर्णय भएको छ ।
बुधबार दिउँसो बरहथवा नगरपालिकाको सभाहलमा बसेको सर्वपक्षीय बैठकले कोरोना भाईरस संक्रमण थप फैलन नदिनका लागि अझ कडाई गर्ने निर्णय गरेको हो । बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोको नेतृत्वमा बसेको बैठकले कोरोना भाईरस दोस्रो भेरिएन्ट संक्रमण प्रतिकार्य सम्बन्धमा वैकल्पिक व्यवस्था सहित ३ बुँदे निर्णय गरेको हो ।
बैठकले तरकारी खरिद बिक्री बजारको भित्री भागमा बन्द गरि पश्चिम नाका दिव्यज्योति मावि नजिक, दक्षिण नाका बसपार्क पूर्व नाका हनुमान चोक, उत्तर नाका मुसैली टोल र उत्तर–पूर्व नाका झोलुंगे पुल नजिक बिहान ७ बजेदेखि १० बजेसम्म खरिद बिक्री गर्न गराउन व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्यस्तै मकै खरिद बिक्री गर्दा खुद्रा खरिद बिक्री बिहान ७ बजेदेखि १० बजेसम्म बजार क्षेत्रको गोला गद्धीबाट गर्ने र बाँकी थोक खरिद बिक्री लोड अनलोड गाउँ गाउँबाटै गर्ने तथा लोड अनलोड गर्ने श्रमिक (लेवर) हरुको आवत जावतका लागि व्यापारीले माग गरेको आधारमा आवश्यकता अनुसार सम्बन्धित वडा कार्यालयबाट सिफारिस पत्र उपलब्ध गराई व्यवस्थापन गर्ने, एम्बुलेन्स र शव बाहन सम्बन्धमा भने भोली(विहिबार) बिहान ८ बजे एम्बुलेन्स चालकहरुको बैठक नगर कार्यपालिकाको कार्यालयमा बसी उक्त बैठकको निर्णय अनुसार एम्बुलेन्स सेवा जनस्तरसम्म सरल र सहज ढंगले पुर्याउने निर्णय बैठकले गरेको छ ।
मेयर महतोले बरहथवा बजार क्षेत्र भित्र भिडभाड नियन्त्रणका लागि पूर्ण रुपले कडाई गर्ने निर्णय भएको बताए । ‘बजार क्षेत्रमा तरकारी र खाद्यान्नका पसल एकसाथ सञ्चालन हुँदा बीचमा निकै भिडभाड भएको थियो’, मेयर महतोले उज्यालो अभियानसँग भने, ‘पछिल्लो समय सुरक्षाकर्मीहरुलले निषेधाज्ञा पालनामा अत्यन्त कडाई गर्दा निकै सुधारिएको अवस्था छ, अब बजार क्षेत्रमा झन कडाई गर्ने निर्णय गरिएको छ ।’ मेयर महतोका अनुसार बुधबारको बैठकमा सबै राजनैतिक दलका नेताहरु, वडाध्यक्षहरु, ईलाका प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बेस क्याम्प बसबरिया, सुन्दरपुर चोहर्वाका प्रमुख, उद्योगी व्यापारी लगायतको उपस्थिती रहेको थियो । मेयर महतोले महामारीको रुपमा फैलँदै गएको कोरोना भाईरस संक्रमणबाट आम नगरबासीलाई जोगाउनका लागि सुरक्षाकर्मीले गर्ने कडाईलाई राजनीतिकरण र सम्प्रादायिकरण नगर्न समेत सरोकारवाला सबै पक्ष, तह र तप्कासँग आग्रह गरेका छन्
बरहथवा नगरपालिकाले केही दिनअघि ८४ जनाको थ्रोट स्वाब संकलन गरि परीक्षणका लागि पठाउँदा बुधबार दिउँसोसम्म ५६ जनाको रिपोर्ट आएको छ । जसमा ४० जनाको रिपोर्ट पोजेटिभ आएको बताईएको छ । बाँकी २८ जनाको रिपोर्ट किन आएन भन्ने कुरा बुझ्ने प्रयास भईरहेको बरहथवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । बरहथवा नगरपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख सत्यनारायण यादवले बाँकी २८ जनाको स्वाब पून परीक्षण गरेर चाँडै रिपोर्ट पठाउने आश्वासन पाएको जानकारी दिए ।
बरहथवामा कोरोना भाईरस संक्रमणबाट आम नागरिकलाई जोगाउनका लागि ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्यवसिंह भाट नेतृत्वको टोलीले कडाई गर्दा विभिन्न राजनैतिक दल एवं उद्योगी व्यापारीबाट आरोप प्रत्यारोप लगाउन सुरु भएको बताईएको छ । जसले गर्दा निषेधाज्ञालाई कडाईका साथ पालना गराउने र कोरोना भाईरस संक्रमणबाट नागरिकहरुको जीउज्यान जोगाउनका लागि प्रहरीले उच्च मनोबलका साथ काम गर्न कठिनाई भईरहेको जानकारहरुले बताएका छन् । प्रनाउ भाटले भने आफ्नो कार्यक्षेत्र भित्रका नागरिकलाई निषेधाज्ञाको पालना गराउँदै कोरोना भाईरस संक्रमणबाट जोगाउनका लागि प्रहरी टोलीलाई कडाईका साथ फिल्डमा खटाईएको उज्यालो अभियानलाई जानकारी दिए ।