logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हरिवनमा फेरि बढ्यो कोरोना संक्रमण दर, १०५ जनाको परीक्षण गर्दा ८० जना पोजेटिभ


  • उज्यालो अभियान

संक्रमितकाे कन्ट्याक्ट ट्रेसिङमा परेका तथा शंकाष्पद देखिएपछि शुक्रबार बिहान सासापुर स्थित काेभिड-१९ अस्पतालमा थ्राेट स्वाब दिन आएका सर्बसाधारणलाई भीटीएम वितरण गर्दै हरिवनका मेयर गणेशप्रसाद प्रसाईं । (तस्बिर : उज्यालाे अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले पछिल्लो पटक गत शुक्रबार संकलन गरेर पठाएको १०५ जनाको थ्रोट स्वाब मध्ये ८० जनामा कोरोना भाईरस देखिएको छ । यो सँगै कोरोना संक्रमणको दोस्रो कहरकालमा हरिवन नगरपालिकाले संकलन गरेर पठाएको २९० थ्रोट स्वाब मध्ये १९० जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

मंगलबार बिहान नगरपालिकालाई प्राप्त विवरण अनुसार १०५ जना मध्ये ८० जनामा कोरोना भाईरस देखिएको हरिवन नगरपालिकाका कोभिड–१९ फोकल पर्सन जनस्वास्थ्य निरीक्षक रामबाबु चौधरीले जानकारी दिए । चौधरीका अनुसार संक्रमित हुनेमा ४१ जना पुरुष तथा ३९ जना महिला रहेका छन् । ८० जना मध्ये सबैभन्दा बढी क्रमशः वडा नं. ११ का २० जना, वडा नं. ८ का १२ जना, वडा नं. १० का १० जना, वडा नं. ७ का ९ जना, वडा नं. ९ का ८ जना वडा नं. २ का दुईजना गरी हरिवन नगरपालिका भित्रैका ६१ जना संक्रमित थपिएका हुन् । त्यस्तै १९ जना संक्रमित भने बागमती, लालबन्दी लगायत छिमेकी नगरपालिकाका बासिन्दा एवं विभिन्न बैंक तथा वितिय संस्था, सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु रहेको चौधरीले बताए । ८० जनामध्ये ७७ जना नयाँ र ३ जना भने पुरानै संक्रमितकाे पूनः पाेजेटिभ आएकाे हाे ।

त्यस्तै आज(मंगलबार) हरिवन नगरपालिकाले पाँचाै पटक ३० जनाकाे थ्राेट स्वाब संकलन गरेर परीक्षणका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाएकाे छ । शंकाष्पद् २१ जना पुरुष र ९ जना महिलाकाे स्वाब संकलन गरेर मलंगवा पठाईएकाे नगरपालिकाले जनाएकाे छ ।

यसअघि गत बुधबार हरिवन नपाले ३५ पुरुष र २३ महिला गरि ५८ जनाको थ्रोट स्वाब संकलन गरेर परिक्षणका लागि मलंगवा पठाएकामा १० महिला र १३ जना पुरुष गरि २३ जनामा संक्रमण देखिएको थियो। त्यस्तै अघिल्लो सोमबार ४० जना पुरुष र ३३ जना महिला गरि ७३ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि मलंगवा पठाएकामा ४६ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको थियो भने वैशाख अन्तिम साता ५४ जनाको स्वाब संकलन गरेर परीक्षण गराउँदा ४१ जनामा पोजेटिभ देखिएको थियो ।

हरिवन नगरपालिकाले हालसम्म चार पटक स्वाब संकलन गरेर परीक्षण गराईसकेको छ । जसमा पहिलो पटकको परीक्षणमा ७६ प्रतिशतमा कोरोना भाईरस देखिएको थियो भने दोस्रो पटक ६३ प्रतिशत, तेश्रो पटक ४० प्रतिशतमा मात्र कोरोना भाईरस भेटिएपछि कोरोना भाईरस संक्रमणको ग्राफ घट्दो देखिएपनि पछिल्लो पटकको परीक्षणमा पूनः ७६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । संक्रमणको दर पूनः बढेकाले आगामी शुक्रबार पुनः कोरोना भाईरस संक्रमण देखिएको कन्ट्याक्ट ट्रेसिङमा परेका र शंकाष्पदहरुको थ्रोट स्वाब संकलन गरिने हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले जानकारी दिए । मेयर प्रसाईंले कन्ट्याक्ट ट्रेसिङमा परेका र मिल्दोजुल्दो लक्षण देखिएकाहरुलाई अनिवार्य रुपमा कोरोना भाईरस परीक्षण गराउन आग्रह गरेका छन् । संक्रमित भएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका एवं शंकाष्पद्हरुको निरन्तर थ्रोट स्वाब संकलन गरिने हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले जानकारी दिए । मेयर प्रसाईंले कोरोना भाईरस संक्रमण समुदाय स्तरमै फैलिएकाले लापरबाही नगर्न र अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आम नगरबासीमा आग्रह गरेका छन् ।

यसैबीच ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा, वडाध्यक्ष, वडा सदस्यहरु एवं कर्मचारी सहित ५८ जनामा कोरोना भाईरस देखिएको छ । गत विहिबार नगरपालिकाले १२३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला जनकपुर पठाएको थियो । जसमध्ये ५८ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । थप संक्रमण फैलन नदिन ईश्वरपुर नगरपालिकालाई आज (मंगलबार) देखि १३ गते विहिबारसम्म सिल गर्ने निर्णय गरिएको मेयर देवकोटाले बताए ।