कतारमा कार्यरत दिनेश खत्री (पौडेल)ले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : मनोज बख्रेलको फेसबुकबाट)
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल खाडी मुलुक कतारमा कार्यरत दिनेश खत्री (पौडेल)ले लालबन्दी स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई दुईलाख ११ हजार सातसय रुपैंया बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट लालबन्दी नगरबासीलाई जोगाउन अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री शनिबार बिहान प्रदान गरिएको हो । खत्रीले स्वास्थ्य केन्द्रलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) ३० थान, गाउन ३० थान, केएन ९५ मास्क २०० थान, थर्मल गन १० थान, सर्जिकल माक्स ४००० थान, क्लोरिन पाउडर १० केजी, टप ग्लोब्स ३० प्याकेट, पल्स अक्सो मिटर १० थान र १०० लिटर सेनिटाईजर प्रदान गरेको लालबन्दी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुरेन्द्र न्यौपानले जानकारी दिए ।
लालबन्दी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोपाल घिमिरे, वडा नं. ७ का वडाध्यक्ष न्यौपाने, स्वास्थ केन्द्र प्रमुख डा. प्रगति राना, डा. हर्ष नारायण साह, हेल्थ असिस्टेण्ट राजकुमार सिंह, दिपेश कुमार पाख्रिन, वडा सदस्य सन्तोष पौडेल लगायतको उपस्थितीमा दानवीर खत्रीकी श्रीमती जुना पौडेल खत्री, बुवा कमल बहादुर खत्री, आमा चन्द्रमाया खत्री, काका काकी जगत बहादुर र खड्ग माया खत्री, भाउजु शान्ता पौडेल लगायतले सामग्री हस्तान्तरण गरेका हुन् ।
खत्रीले गतवर्ष पनि नगरपालिकालाई थ्रोट स्वाब संकलन गर्नका लागि दुई लाख रुपैंया भन्दा बढीको किट प्रदान गरेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । विषम परिस्थितीमा व्यक्तिगत कमाईबाट स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेर नगरपालिकालाई ठूलो गुन लगाएको भन्दै वडाध्यक्ष घिमिरे, न्यौपाने लगायतले खत्री एवं उनका परिवारप्रति आभार प्रकट गरेका छन् ।