सर्लाहीको हरिवनमा उपचाररत एक महिला सहित दुईजना कोरोना संक्रमितको मृत्यु

कर्मैया स्थित बागमती खोला किनारमा शवको दाहसंस्कारका लागि सलामी अर्पण लगायत व्यवस्थापनको काम गर्दै नेपाली सेनाको टोली । (फाईल तस्बिर : उज्यालो अभियान)

हरिवन – हरिवन नगरपालिका अन्तर्गत सासापुर स्थित कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना भाईरस संक्रमित महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान सबा १० बजे हरिवन नगरपालिका–११ निवासी ५० वर्षीया महिलाको मृत्यु भएको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । गत वैशाख २९ गते हरिवन नगरपालिकाले परीक्षण गराउँदा कोरोना भाईरस पोजेटिभ देखिएपछि होम आईसोलेसन बसेकी ती महिला श्वासप्रश्वासमा निकै समस्या भएपछि सोमबार साँझ हरिवन नगरपालिकाले सञ्चालन गरेको सासापुर स्थित कोभिड अस्थाई अस्पतालमा भर्ना भएकी थिईन् ।

त्यस्तै हरिवन नगरपालिका–११ निवासी एक पूरुषको मंगलबार नै काठमाडौंमा मृत्यु भएको छ । हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंका अनुसार काठमाडौंमा उपचाररत ती पुरुषमा कोरोना भाईरस देखिएको छ ।

सोमबार मात्रै सासापुरमै उपचाररत चक्रघट्टा गाउँपालिका निवासी एक कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यो पनि पढ्नोस्

सर्लाहीको हरिवनमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

मलंगवाको पीसीआर ल्याबमा १८८ जनाको थ्रोट स्वाब परीक्षण गर्दा १३३ जनामा संक्रमण

हरिवनमा आज पुनः ७३ जना को थ्रोट स्वाब संकलन

अहिले मृतक महिलाको शव दाहसंस्कारका लागि बागमती लैजाने तयारी भईरहेको हरिवन नगरपालिकाका मेयर प्रसाईंले जानकारी दिए । नगरपालिकाले एम्बुलेन्समा राखेर बागमती पठाउने र बागमती नदी किनारमा नेपाली सेनाको टोलीले दाहसंस्कार गर्ने बताईएको छ ।

हरिवन नगरपालिकामा केही दिनअघि ५४ जनाको थ्रोट स्वाब परीक्षण गर्दा ४१ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको थियो । त्यस्तै सोमबार मात्र हरिवन नगरपालिकाले पुनः ७३ जना शंकाष्पदहरुको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि मलंगवा अस्पताल पठाएको छ । पछिल्लो समय जिल्लामा परीक्षण गर्दा ७५ प्रतिशत भन्दा बढीमा कोरोना भाईरस पोजेटिभ देखिने गरेको छ । जुन तथ्यांकलाई हेर्दा समुदाय स्तरमा नै कोरोना भाईरस व्यापक भईसकेको उल्लेख गर्दै स्वास्थ्य विज्ञहरुले सजग र सचेत हुन आम जनमानसमा आग्रह गरेका छन् भने सरोकारवाला निकायले पनि उचित कदमहरु बेलैमा चाल्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् ।