logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीमा कोरोना संक्रमितको संख्या ४४० पुग्यो, ७ जनाको मृत्यु


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा कोरोना संक्रमितको संख्या ४४० पुगेको छ ।

वुधवार साँझसम्म जिल्लाभित्र तथा जिल्लाबाहिर पीसीआर र एन्टिजेन विधीबाट परीक्षण गर्दा ४४० जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख श्रवणकुमार नायकले बताए । दोस्रो चरणमा नयाँ भेरियन्टसहित फैलिएको कोरोना संक्रमणबाट सो संख्यामा व्यक्तिहरु संक्रमित भएका हुन् ।

संक्रमितमध्ये ७ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय प्रमुख नायकले बताए । उनले उज्यालो अभियानसँगले लालबन्दीका एक जना संक्रमितको आज (वुधवार) चितवन भरतपुरमा उपचारका क्रममा ज्यान गएको भनिएपनि आधिकारिक पुष्टी हुन बाँकी रहेको बताएका छन् ।

सर्लाहीमा अहिले जिल्ला अस्पताल मलंगवामै समेत पीसीआर परीक्षण हुन थालेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा एन्टिजेन विधीबाट पनि कोरोना परीक्षण हुन्छ । मलंगवाको पीसीआर ल्याबमा वुधवार साँझ अबेरसम्म पीसीआर जाँचको रिपोर्ट आइसकेको छैन् ।

कोरोना संक्रमण रोकथामका लागि सर्लाहीमा अहिले निषेधाज्ञा लगाइएको छ । बैशाख २५ गते राती १२ बजेबाट लगाइएको निषेधाज्ञा ३१ गते राती १२ बजेसम्म रहने छ ।

निषेधाज्ञापछि बजार क्षेत्रमा मानिसको आउजाउ निकै पातलिएको छ भने गाउँघरमा यसकोे खासै प्रभाव परेको छैन् । तरकारी बजार बाहेक मुख्य–मुख्य बजारका अन्य पसल व्यवसाय बन्द छन् ।

पूर्व–पश्चिम राजमार्ग र अन्य भित्री सडकहरुमा भाडाका गाडी नचलेपनि मोटरसाइकल, टेम्पुलगायतका सवारी चलिरहेका छन् ।