कोरोना संक्रमणबाट मृत्यु भएका मलंगवाका पहिलो संक्रमितको केही दिनअघि शव व्यवस्थापन गर्दै सेनाको टोली । (फाईल तस्बीर : उज्यालो अभियान)
बरहथवा – सर्लाहीमा सोमवार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला अस्पताल मलंगवाको कोभिड वार्डमा उपचाररत बरहथवा नगरपालिका–११, हीरापुर निवासी ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । ती पुरुष बिरामी परेर केही दिनअघि जिल्ला अस्पताल मलंगवामा उपचारका लागि पुगेका थिए ।
उपचारकै क्रममा पीसीआर परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पाइएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकले चार दिन अघिनै भेन्टिलेटरको सुविधा रहेको अस्पतालमा रेफर गरेका थिए ।
तर परिवारका सदस्यले आर्थिक अभाव रहेको भन्दै सङ्क्रमित पुरुषलाई भेन्टिलेटरको सुविधा रहेको अस्पतालमा लान सकेका थिएनन् । जिल्ला अस्पताल मलंगवामा अक्सिजनको सुविधासहित पाँच बेडको कोभिड वार्ड तयार पारिएको छ ।
अस्पतालका कोभिड फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले संक्रमित पुरुषलाई बेलैमा भेन्टिलेटर भएको अस्पतालमा लान नसक्दा सोमवार बिहान ४ बजेतिर मृत्यु भएको जानकारी दिए ।
मृतकको शव सदरमुकाम मलंगवादेखि बसबरिया गाउँपालिकाको वडा नं. १ स्थित बागमती नदीको एकासीघाटमा ल्याएर सोमवार साँझ अन्त्येष्टि गरिएको छ ।
दोस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमणबाट सर्लाहीमा अहिलेसम्म छ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको मलंगवा, रामनगर, बसबरिया, लालबन्दी, बलरा र बरहथवामा गरी एक÷एक जनाको संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै सोमवार सम्म जिल्लाभर ३०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयका प्रमुख श्रवणकुमार नायकले बताए ।