हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले कोरोना भाइरससँग मिल्ने लक्षण देखिएका नगरवासीहरुको निःशुल्क पीसीआर परीक्षण गराउने भएको छ ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित नगर स्तरीय मेडिकल टिमको सोमवार बसेको बैठकले लक्षण देखिएका र डाक्टरहरुले परीक्षण गराउन सिफारिस गरेका व्यक्तिहरुको पीसीआर जाँच गराउने निर्णय गरेको हो । पर्सी वुधवार बिहान १० बजेदेखि नगरपालिकाको नवनिर्मित भवन परिसरमा स्वाब संकलन गर्ने निर्णय भएको नगर स्तरीय मेडिकल टिमका संयोजक एवं डाक्टर इन्द्रजित महतोले जानकारी दिए ।
नगरभित्र लक्षण देखिएका बिरामीहरु बढेपछि नगरपालिकाले निःशुल्क पीसीआर गराउने निर्णय गरेको हो । हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले हरिवन नगरपालिका नगरवासीको स्वास्थ्यप्रति अत्यन्त चिन्तित र गम्भीर रहेको बताए ।
बैठकमा नगरपालिकाको शिक्षा प्रमुख नवराज निरौला, ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख अवधेशकुमार यादव र नगरभित्र क्रियाशिल चिकित्सकहरु सहभागी थिए ।
नगरपालिकाले यसअघि नै आफ्नै पहलमा अक्सिजनको व्यवस्थासहित सय बेडको आइसोलेसन तयार पारिसकेको छ । सासापुर स्वास्थ्य चौकीमा ४० बेडको र हरिवनको एउटा निजी अस्पतालमा ६० बेडको आइसोलेसन तयार पारिएको हो ।