हरिवन – सर्लाहीको हरिवनमा सोमवार कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि मास्क, सेनिटाइजर वितरण र सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल स्काउट हरिवन नगर कमिटिद्वारा आयोजित कार्यक्रममा कोभिड–१९ बाट बच्नका लागि हरिवन नगरपालिकाले २ हजार मास्क र २० लिटर सेनिटाइजर स्काउट हरिवनका अध्यक्ष सुवास घिमिरेलाइ उपलब्ध गराएका हुन् ।
सोमवारको कार्यक्रममा हरिवन नगरपालिकाको गणेशचोक, हरिवनचोक र नयाँरोडमा १५ सय मास्क र ५ लिटर सेनिटाइजर वितरण गरेको र कोभिडबाट बच्ने उपायका बारेमा सचेतना जगाएका नेपाल स्काउटका प्रदेश नम्बर २ का सदस्य नारायण बहादुर कार्कीले बताए । उनका अनुसार मंगलवारदेखि हरिवनचोकमा बसेर मास्क वितरण गर्ने जानकारी दिए ।
हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइले मास्क नलगाइ हिडेका एक सर्वसाधारणलाई मास्क लगाइ दिएर अभियानको उद्घाटन गरेका हुन् । बिहान करिव एक घण्टा हरिवनको मुख्य राजमार्ग क्षेत्रमा मास्क नलगाई हिँड्नेहरुलाई मास्क वितरण र सेनिटाइजरको प्रयोगसहित चेतना अभिवृद्धि गराउने काम गरेका छन् ।
यो किसिमको सचेतनामूलक अभियान हरिवनका मुख्य–मुख्य बजार क्षेत्रमा क्रमैसँग गरिने मेयर प्रसाइले बताए । नगरपालिकाले सचेतना जगाउने काम पनि गर्छन् भन्ने सन्देश दिन कोरोना संक्रमणविरुद्ध सचेतना जगाउन सुरु गरिएको स्काउट हरिवनका सदस्य पुस्कर बुढाथोकीको भनाइ छ ।
अभियानमा नेताहरु सुरेन्द्र लामा, भरत कार्की, बिदुर प्याकुरेल, मोहनलाल श्रेष्ठलगायतको उपस्थित रहेको थियो ।