नेता वाग्ले ।
हरिवन – नेकपा एमालेका नेता चूडामणि वाग्लेले मृत्यु पछिको पार्थिव शरीर चिकित्साशास्त्र अध्ययनको लागि दान गर्ने घोषणा गरेका छन् ।
सोमवार आफ्नो जन्म दिनको अवसर पारेर वाग्लेले फेसबुक स्टाटस मार्फत मृत शरीर दान गर्ने योजना सार्वजनिक गरेका हुन् । वाग्लेले सोमवार नै एक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पार्थिव शरीर दान गर्न जाने योजना भए पनि कोभिड १९ को कारण घोषणा मात्र गर्न सकेको जानकारी दिए ।
अवस्था अनुकुल भएपछि शरीर दानवारे सम्झौता गर्न जाने उनको भनाई छ । उनले कोभिडका कारण आफूले कुरा गरेको स्वास्थ्य प्रतिष्ठानले पनि अवस्था सहज भएपछि मात्र कागजात मिलाउन आउनु भनेको बताए ।
मृत्यु पछि शरीरलाई खरानी बनाएर फाल्नु भन्दा केही उपयोग होस् भन्ने आफूलाई लागेको उनले बताए । कम्तीमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सिक्न काम लाग्यो भने मृत्युपछि पनि केही योगदान हुन्छ भन्ने वाग्लेको धारणा छ ।
शरीर दान गर्ने सम्वन्धमा पारिवारिक सल्लाह भएको उनले जानकारी दिए । नेकपा एमालेको माधव झलनाथ समुहका जिल्ला कमिटी सदस्य उनी यस पहिले लामो समय पत्रकारिता गर्थे ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखा र सामुदायिक रेडियो सर्लाही हरिवनको उहाँ सस्थापक अध्यक्ष हुन । केही वर्ष देखि पत्रकारिता पेशा छोडेर उहाँ पूर्ण समय राजनैतिक र सामाजिक काममा क्रियासिल छन् ।