logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

मलंगवामा डीसीसीएमसीको बैठक सम्पन्न, जिल्लामै कोरोना परीक्षण सुरु गर्ने निर्णय


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय । (तस्बीर ः उज्यालो अभियान)

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा वुधवार साँझ अबेरसम्म जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसेको छ ।

बैठकले मुख्य रुपमा सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा केही समयअघि ल्याएर राखिएको पीसीआर मेसिन संचालनमा ल्याई कोरोना परीक्षण सुरु गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले उज्यालो अभियानसँग बताए । सो पीसीआर मेसिन प्रदेश २ सरकारले केही समयअघि नै उपलब्ध गराएको हो ।

जनशक्ति नरहेको भन्दै सो मेसिन अहिले थन्काएर राखिएको छ । यस्तै बैठकले सीमामा अनावश्यक आवागमनमा कडाई गर्ने, बाहिरबाट आएकाहरुलाई पहिलेजस्तो पालिकाहरुको क्वारेन्टाइनमा भन्दा पनि होम क्वारेन्टाइनमै राख्ने, विद्यालयहरु बन्द गर्नेजस्ता निर्णयहरु भएका छन् ।

सरकारले ५ सय जना संक्रमित नाघेपछि मात्रै लकडाउन गर्ने निर्णय गरेकाले सर्लाही जिल्लाको हकमा अहिले परीक्षण सुरु भई नसकेकाले वुधवारको बैठकमा लकडाउनबारे भने कुराकानी नै नभएको जिल्ला समन्वय समितिका सभापति चौधरीले बताए । बैठकमा जिल्लाका विभिन्न सुरक्षा अंगका प्रमुखहरु, जिल्ला समन्वय समितिका प्रमुख, पालिका प्रमुखहरु तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु र अन्य सरोकारवालाहरु सहभागी थिए ।

नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न जिल्लाका पालिकाहरुले अहिलेसम्म पहल नगरेको भन्दै चर्को आलोचना भइरहेको छ । संक्रमण बढ्दै जाँदा सर्वसाधारण नागरिकले समेत सतर्कता अपनाएका छैनन् ।

स्थानीय प्रशासन र प्रहरीले भने आफ्नो तर्फबाट सर्वसाधारणहरुलाई मास्क लगाउन अनुरोध गर्ने र अन्य सचेतना फैलाउने काम गरिरहेका छन् । यस्तै, केही कर्मचारीमा उच्च ज्वरो आएर कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि जिल्ला प्रशासन कार्यालयले वुधवारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ ।

एन्टिजेन परीक्षण गर्दा केही कर्मचारीमा पोजिटिभ रिपोर्ट आएको थियो ।