logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

हरिपूर्वामा विद्यार्थी र प्रहरीबीच झडप, आधा दर्जन बढी घाईते


  • उज्यालो अभियान

हरिपूर्वा – यहाँको हरिपूर्वामा मंगलवार विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

हरिपूर्वा नगरपालिका–५, स्थित बजारमा रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फका शिक्षक नियुक्ति गर्दा अनियमितता भएको भन्दै नगरपालिका कार्यालय घेराउ गर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो । प्रहरीले रोक्ने प्रयास गर्दा गर्दै विद्यार्थीको समूहले नगरपालिका कार्यालयमा तोडफोड गरेको छ ।

तोडफोडबाट नगरपालिकाको विभिन्न विद्युतीय उपकरण, टेबल, कुर्सीलगायतका सामग्रीमा क्षति पुगेको हरिपूर्वा निवासी पत्रकार मुकेश झाले जनाए । प्रहरीले लाठी चार्ज गरेर विद्यार्थीको हूललाई पन्छाएको छ । त्यसक्रममा सुजितकुमार यादव, ललित मण्डललगायतका आधा दर्जन विद्यार्थी घाईते भएका छन् ।

आक्रोशित विद्यार्थीले बजारमै रहेको प्रहरी चौकीमा समेत ढुंगामुढा गर्दा प्रहरी जवान विनय कुमार यादव र दीपेन्द्र नारायण यादव घाईते छन् । ढुंगामुढाबाट प्रहरी चौकीमा समेत सामान्य क्षति पुगेको स्थानीयले बताएका छन् ।

नगरपालिका र प्रहरी चौकीमा आक्रमण भएपछि सदरमुकाम र जिल्लाका विभिन्न युनिटहरुबाट थप मद्धतमा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । विद्यालयमा गत शनिवार सीटीईभीटी अन्तर्गत सिभिल इन्जिनियर अध्यापनका लागि दुई जना प्रशिक्षक र दुई जना सहायक प्रशिक्षक गरी चार जना शिक्षक नियुक्त गरिएको थियो ।

विद्यार्थीहरुले पहिल्यैदेखि अध्यापन गराउँदै आउनुभएका शिक्षक पवन रायलाई नियुक्त नगरी अन्यलाई नियुक्त गरिएको भन्दै आपत्ति जनाएका हुन् । शिक्षक नियुक्तीको विवादले विद्यालयमा केही दिनदेखि तालाबन्दी समेत भइरहेको थियो ।