आयोजकलाई खेलकुद सामग्री प्रदान गर्दै ग्रामीण नारी उत्थान संघ हरिपुरका कर्मचारी ।
बेला – सर्लाहीको ईश्वरपुर नगरपालिका–१० बेला खैरामा आइतवारबाट मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
जनशक्ति युवा क्लब ईश्वरपुर १० को आयोजनामा प्रतियोगिता सुरु भएको हो । क्लबका अध्यक्ष बिष्णुदयाल चौधरीको अध्यक्षतामा मेयर मनोज देवकोटाले प्रमुख अतिथिका रुपमा प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा उपमेयर एकावतीदेवी चौधरी, वडा नं १० का वडा अध्यक्ष रामनारायण चौधरी, समाजसेवी जोगनारायण चौधरी, रासनारायण चौधरी, दिनेश ठाकुरलगायतको आतिथ्यता थियो । प्रतियोगितामा रौतहट ,बारा र सर्लाहीका गरी ८ टिमको सहभागिता रहेको छ ।
पहिलो हुने टिमलाई नगद ४० हजार, कप मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई नगद २५ हजार कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता अन्तर्गत आइतवार भएको उद्घाटन खेलमा एभरेष्ट एकेडेमी लालबन्दीले रौतहट–११ लाई दुईका विरुद्ध ६ गोल गर्दै पराजित गरेको छ ।
प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुने आयोजक क्लब जनशक्ति युवा क्लबका टिम कप्तान राम प्रकाश चौधरीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन समारोहमा ग्रामीण नारी उत्थान संघ हरिपुरले आयोजक क्लबलाई १ थान फुटबल, ब्यानर र खेलाडीहरुका लागि १२ थान जर्सी सहयोग गरेको छ ।
खेलका निर्णायक (रेफ्री) लाई बल हस्तान्तरण गर्दै मेयर देवकोटा । (तस्बीर : उज्यालो अभियान)