logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एआईजी शाहीद्वारा ईप्रका कर्मैयाको नवनिर्मित भवन उदघाटन


  • उज्यालो अभियान

बागमती – सर्लाहीको उत्तर-पश्चिम भेगमा पर्ने बागमती नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय कर्मैयाको नवनिर्मित भवनको सुक्रवार उद्घाटन भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) निरज बहादुर शाहीले सुक्रवार दिउँसो एक कार्यक्रमका बीच भवनको उदघाटन गरेका हुन् । एआईजी शाहीले थप उर्जाका साथ काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

बागमतीस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा बेलायती संस्था यूकेएआईडीको दुई करोड ८८ लाख ७३ हजार २४० रुपियाँ लागतमा तीनवटा हिरासत कक्षसहित १६ कोठे भवन तयार गरिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले बताए । भवन उद्घाटन समारोहमा प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धीरजप्रसाद सिंह, जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा र प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बागमती नगरपालिकाका प्रमुख थापाले नगरको शंकरपुरस्थित सोल्टी बजारमा प्रहरी चौकी राख्नका लागि गृह मन्त्रालय, जिल्ला सुरक्षा समितिलगायतका निकायमा पटक–पटक आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गरे । पटक–पटक चोरी, डकैतीको घटना हुँदा शंकरपुर क्षेत्रका वासिन्दाले असुरक्षित महशुस गरिरहेका भन्दै कार्यक्रममा उपस्थित सुरक्षा अधिकारीहरुको उनले ध्यानाकर्षण गराए ।

कार्यक्रममा प्रमुख अतिथि एआईजी शाही र प्रहरी प्रदेश प्रमुख डीआईजी सिंहले प्रहरी संगठनमा स्रोत, साधन र जनशक्तिको निकै अभाव रहेको कुरा बुझिदिन आग्रह गर्दै सोल्टी बजार क्षेत्रमा चौकी राख्नका लागि आफूहरुले पहल गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रदेशका अन्य सुरक्षा अधिकारी, सर्लाही र छिमेकी जिल्लाका सुरक्षा अधिकारी, बागमतीका जनप्रतिनिधि, स्थानीयवासी र अन्य सरोकारवालाहरु सहभागी भएका सर्लाही प्रहरीका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।