हरिवन – सर्लाहीको हरिवन नगरपालिका–८, चापिनीका युवा जोनिस पाख्रिनले जन्मदिनको अवसर पारेर एक अग्नी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
एमालेको केपी ओली समूह निकट राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य एवं सर्लाही इन्चार्ज समेत रहेका पाख्रिनले शनिवार परेको जन्मदिनको अवसर पारी आइतवार चुरेक्षेत्रस्थित हरिवन नगरपालिका–१, बिलन्दीका चन्द्रबहादुर बस्नेतको परिवारलाई खाद्यान्न प्रदान गरेका हुन् । केही दिनअघि वनमा लागेको डढेलो सल्किएर बस्नेत परिवारको घर र घरभित्र रहेका सम्पूर्ण सरसामग्री जलेर नष्ट भएको थियो ।
चन्द्रबहादुरकी श्रीमती सीतालाई आइतवार चुरेपाखा तलको फेदीमा बोलाएर दुई बोरा चामल, नुन, तेल, दाल, चाउचाउलगायतका खाद्यान्न उपलब्ध गराएको पाख्रिनले बताए । उनले हरिवन नगरपालिका–१०, का वडाध्यक्ष शम्भुप्रसाद मैनालीको उपस्थितिमा अग्नी पीडित परिवारलाई सहयोग प्रदान गरेका हुन् ।
जन्मदिनमा थोरै भएपनि सेवाको काम गरौँ भनेर अग्नी पीडितलाई सहयोग गरेको पाख्रिनले बताए । डढेलोले घर जलेर बिचल्लीमा परेका बस्नेत परिवारलाई नगरपालिकाबाट पनि सहयोग दिलाउन पहल गरिरहेको स्थानीय युवा राजु लो तामाङले जानकारी दिए ।