भारतको सोनवर्षा जोड्ने मुख्य नाका स्थित गोरखकाली चौकी परिसरमा रोकिएका भारतीय सबारी साधन तथा भारतमा किनमेल गरेर आउने सर्बसाधारणको सामान ओसार्न नेपालतर्फ लामवद्ध अटो रिक्साहरु । (फाईल तस्बिर : उज्यालो अभियान)
मलंगवा – नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरे अनुसार गत विहिबार गृह मन्त्रालयबाट पत्र आएपनि सर्लाही सदरमुकाम मलंगवा स्थित मुख्य भारतीय सीमानाका अझैसम्म पनि खुलेको छैन ।

विहिबार नेपाल सरकार गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय मलंगवालाई सर्लाहीको मुख्य सीमा मलंगवा नाका खुला गरिएको पत्र आएको थियो । गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय मलंगवालाई पत्र आएको तीन दिन बितिसक्दा समेत शनिबारसम्म पनि उक्त नाका कोरोना भाईरसका कारण सरकारले जारी गरेको लकडाउन अघिको जस्तै पूर्ववत रुपमा सूचारु हुन सकेको छैन ।
भारतीय पक्षको उदासिनताका कारण नाका खुल्न नसकेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार विहिबार अबेर गृह मन्त्रालयबाट मलंगवा नाका खुलाउने पत्र आएको थियो ।

शुक्रबार दिनभर भारतको सीतामाढी जिल्लाकी मेजेस्टिकसँग फोन सम्पर्क गरेपनि कुरै हुन नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । प्रजिअ पौडेलले शुक्रबार ३–४ पटक फोन गर्दापनि समकक्षी भारतको सीतामाढी जिल्लाकी प्रमुख अभिलाशा कुमारी शर्माले रिसिभ नै नगरेको बताईएको छ । ‘मैले शुक्रबार पटक–पटक भारतको सितामाढी जिल्लाकी मेजेस्टिकज्यूलाई फोन गरेको थिएँ’, प्रजिअ पौडेलले भने, ‘फोनमा कुनै रेस्पोन्स नभएपछि, ईमेल मार्फत नेपाल सरकारले मलंगवा नाका खुलाउने निर्णय गरेको पत्र पठाएको थिएँ, तर उताबाट कुनै जवाफ आएको छैन ।’
शनिबार नेपालतर्फको सार्बजनिक बिदा भएको र आईतबार भारतको सार्बजनिक बिदा भएकाले अब यो मुद्धाले सोमबार मात्र सार्थकता पाउला की भन्ने देखिएको छ । विहिबार साँझबाटै सदरमुकाम मलंगवा नाका खुलेको भन्ने हल्लासँगै स्थानीय सर्बसाधारण सहित आम जिल्लाबासीहरु उक्त निर्णय कार्यान्वयन कहिले हुने हो भनेर निकै जिज्ञासु बनिरहेका छन् ।
नेपाल सरकारको तर्फबाट मलंगवा नाका खुला गरिएपनि भारतीय पक्षको अर्घेल्याईंका कारण आवतजावतमा पूर्ववत सूचारु हुन नसकेको एक सरकारी अधिकारीले दाबी गरे । ‘नेपाल सरकारको तर्फबाट त आधिकारिक रुपमा मलंगवा नाका खुलाउने निर्णय भईसकेको छ, सोही अनुरुप स्थानीय प्रहरी प्रशासनमा समेत लिखित जानकारी आईसकेको र कार्यान्वयनका लागि समेत सबै तयारी पूरा भईसकेको छ’, एक सुरक्षा अधिकारीले भने, ‘तर भारतीय पक्षले नखोलेसम्म नेपाली पक्षबाट खोल्नुको कुनै अर्थ छैन, भारतीय पक्षले कुनै चासो नदेखाएकै कारण नेपाली पक्षबाट नाका खुलाउन पहल गरेको तीन दिनसम्म पनि सूचारु हुनै सकेको छैन ।’
२०७६ चैत १० गतेबाट कोरोना भाईरसको कारण देखाउँदै नेपाल र भारत सरकारले सम्पूर्ण सीमानाका पुर्णरुपमा बन्द गरेको थियो । नेपाल–भारत सीमाबन्दीले सीमावर्ती क्षेत्रमा र्आर्थक, सामाजिक र सांस्कृतिक गतिविधिलाई प्रभावित बनाइरहेको बेला नेपाल पक्षले मुख्य नाका खुलाएपनि भारतीय पक्षको अवरोध कायमै छ । जसले नागरिकको पीडा सम्बोधन हुन सकेको छैन ।
जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीको संयोजकत्वमा आन्दोलनको कार्यक्रम समेत भएको थियो । राजनीतिक दलहरु, सीमा क्षेत्रका पालिका प्रमुखहरु, सांसदहरु सीमा खुलाउनुपर्नेमा एकमत देखिएका थिए । उनीहरुले भन्सार क्षेत्रमा धर्ना समेत दिएका थिए । नाका खुलाउनका लागि विघटित संघीय सांसद् एवं पूर्व मन्त्री महेन्द्र यादव सहित विघटित संघीय सांसद् प्रमोद साह, प्रदेश सांसद्हरु अशोककुमार यादव लगायत सत्ताधारी नेकपाका नेताहरु, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका नेताहरु समेत गोरखकाली चौकी स्थित भारतीय सीमा नजिक धर्नामा समेत बसेका थिए ।
सरकारले कोरोना नियन्यत्रणका लागि गरेको देशव्यापी लकडाउन तथा सीमा बन्द गरेयता सर्लाहीको सीमा खुल्न सकेको छैन । नेपाल सरकारको निर्णय पश्चात पारी छिर्ने मुख्य बाटोमा प्रहरीले लगाएको ढाट अत्यावश्यक सवारी साधन आएपछि हटाउन भनिएपनि भारतीय पक्षको अवरोधले सवारी साधन नआउँदा ढाट हटाउन सकिएको छैन । हाल सबारी साधन आउजाउ नभएपनि दर्जनौं चोरी बाटो हुँदै धानखेतबाट दैनिक हजारौं नेपाली र भारतीय सर्बसाधारण किनबेच एवं पारिवारिक कामका सिलसिलामा ओहोरदोहोर गरिरहेका छन् ।