बुधबार खोप अभियान उद्घाटनका अवसरमा खोप लगाउदै जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संजिव सिंह ।
मलंगवा – कोरोना भाइरसविरुद्धको खोप अभियान अन्र्तगत शुक्रबार तेस्रो दिन सर्लाहीमा २०४ जनालाई खोप लगाईएको छ ।
शुक्रबार पर्सा र ब्रम्हपुरी गाउँपालिकामा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी सहित २०४ जनालाई खोप लगाइएको हो । बुधबार पहिलो दिन र विहिबार दोस्रो दिन मलंगवा नगरपालिकाका क्रमशः १२९ र ११५ जना स्वास्थ्यकर्मी, सफाईकर्मी, कार्यालय सहयोगि, सुरक्षाकर्मी लगायतलाई खोप लगाईएको थियो । क्रमशः जिल्ला स्थित सबै पालिकाका स्वास्थ्यकर्मी लगायतलाई सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल परिसरमा बोलाएर भ्याक्सिन लगाउने गरिएको छ ।
आज (शनिबार) चक्रघट्टा र बसबरिया गाउँपालिका तथा गोडैता नगरपालिकाका स्वास्थ्यकर्मी सहित अग्रपंक्तिमा काम गर्ने राष्ट्रसेवक कर्मचारी लगायतलाई जिल्ला अस्पताल मलंगवा परिसरमा खोप लगाईंदै छ ।
बुधबार सर्लाही जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संजिव सिंह, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधिवक्ता केशव गौतम, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकलाई खोप लगाएर अभियानको उद्घाटन गरिएको थियो । अभियान अन्तर्गत शुक्रबारसम्म ४४८ जनालाई खोप लगाईएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले जानकारी दिए ।
अनुमानित तथ्यांक अनुसार जिल्ला स्थित २० पालिकामा फ्रण्टलाईनमा काम गर्ने झण्डै ६ हजार ६ सय ३९ जना रहेका छन् । सोही तथ्यांंकका आधारमा जिल्लाबाट कोरोना विरुद्धको ७ हजार डोज खोप माग गरिएको थियो । तर ५ हजार ३०० डोजमात्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
प्रजिअ पौडेलका अनुसार क्रमशः स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, अग्रपंक्तिमा खटिने अन्य राष्ट्रसेवक कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका लगायतलाई खोप दिईने छ । पहिलो पटक लगाएका व्यक्तिलाई पूनः ४ हप्तापछि दोस्रो डोज खोप लगाईने छ । भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप बुधबारबाट नेपालभर लगाउन सूरु गरिएको हो ।