रानीगञ्जमा सुकुम्वासीलाई कम्बल बाँड्दै क्लबका पदाधिकारी ।
लालबन्दी – लायन्स क्लब अफ लालबन्दीले आज (मंगलवार) सर्लाहीको लालबन्दी नगरपालिकाको बेग्लाबेग्लै तीन स्थानमा अतिविपन्न तथा सुकुम्वासी परिवारलाई कम्बल वितरण गरेको छ ।
नगरपालिकाको वडा नं. १२ भालुखोपमा ५३ घरधुरीका बुढाबुढी बुवाआमालाई लायन्स क्लबले कम्बल र बालबालिकालाई सारा फाउण्डेसनले स्वीटर वितरण गरेको छ । पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, लायन्स क्लबका पूर्व गर्भनर भरत प्रसाद ढुंगेल र सारा फाउण्डेसनकी अध्यक्ष सर्मिला थापा लगायतको उपस्थितिमा आफूहरु समेत त्यहाँ पुगेर न्यानो प्रदान गरेको लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।
यस्तै लालबन्दी नगरपालिका–१७ रानीगञ्जका ३६ परिवार सुकुम्वासी र लालबन्दी नगरपालिका १६ परवानीपुरका ३० घर अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको न्यौपानेले बताए । रानीगञ्जमा वडाध्यक्ष नवराज अधिकारी र परवानीपुरमा वडाध्यक्ष गणेश थापाको आतिथ्यतामा कम्बल वितरण गरिएको हो ।