logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनका स्कुले ब्याजीले गरे मगरलाई लाखौं सहयोग


  • उज्यालो अभियान

ह्वीलचियरमा बसेका मगरलाई नगद रकम हस्तान्तरण गर्दै मजमाविका प्रअ जयशंकर सिंह तथा उपस्थित विद्यालयका शिक्षक एवं मगरका साथिहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – महादेव जनता नमुना माध्यमिक विद्यालय हरिवनका २०५९ सालका एसएलसी ब्याजी विद्यार्थीहरुले आफुसँगै पढेका एक साथिलाई लाखौं रकम सहयोग गरेका छन् ।

हरिवन नगरपालिका–८ भित्र घर भई २०५९ मा एसएलसी दिएका विद्यार्थी समूहले दुर्घटनामा परेर गम्भीर घाइते भएका हरिवन–८ हनुमानचोक निवासी भोजबहादुर मगरलाई ४ लाख ५३ हजार २७८ रुपैंया नगद प्रदान गरेका हुन् । मगरको घरमै पुगेर मजमाविका प्रधानाध्यापक जयशंकर सिंह, मजमाविका पूर्व प्रअ कृष्णप्रसाद भट्टराई, मजमाविकै पूर्व शिक्षक एवं पूर्व प्रअ रजनिकान्त झा, मजमाविका शिक्षक माधव सरकार लगायतकाे उपस्थितमा नगद प्रदान गरिएको विनय तिमल्सिनाले जानकारी दिए ।

भक्तपुरमा काम गर्ने क्रममा दुर्घटनामा परेर मेरुदण्ड भाँचिनुका साथै मुख्य नशा चुट्टिएपछि मगर दुवै खुट्टा नचल्ने अवस्थामा पुगेका नचल्ने अवस्थामा पुगेका छन् । दुर्घटना पश्चात लामो समय भक्तपुरको मध्यपुर थिमी अस्पतालमा तथा काभ्रेको इस्पाईनल इन्जुरी अस्पतालमा उपचार गराउँदा पनि मुख्य नशा चुट्टिएकाले दुवै खुट्टा नचल्ने अवस्थामा मगर पुगेको तिमल्सिनाले जानकारी दिए । मगर हाल आफ्नै घरमा ह्वील चियरको सहारामा बाँचिरहेका छन् ।

देशविदेशमा रहेका आफुहरु सँगै पढेका मनकारी साथीहरुबाट नगद सहयोग संकलन गरिएको उक्त अभियान चलाउने समूहका सदस्य विनय तिमल्सिनाले बताए । भोज बहादुरको स्वास्थ्य र आर्थिक अवस्था दुबै नाजुक भएकाले आफूहरुले स्वास्थ्य उपचारका साथै घर व्यबहार चलाउनका लागि आर्थिक सहयोग जुटाउन पहल गरेको तिमल्सिनाको भनाई छ ।

नगद प्रदान गर्ने क्रममा मजमाविका प्रअ सिंह सहितका शिक्षकहरुले मगरका छोरीहरुलाई पढ्नका लागि किताब, कलम, ड्रेस लगाएतका सम्पूर्ण खर्च विद्यालयले बेहोर्ने प्रतिबद्धता समेत जनाएको बताईएको छ । मगरलाई आगामी दिनमा पनि थप आर्थिक सहयोग प्रदान गर्ने तिमल्सिनाले जानकारी दिए । सँगै पढेका तथा खेले हुर्केका दौंतरी साथिहरुले लाखौं नगद प्रदान गरेर ठूलो गुन लगाएको भन्दै मगरले आभार प्रकट गरेका छन् ।

यसअघि पनि मगरलाई हरिवन निवासी रोशन दवाडीको नेतृत्वमा काठमाडौंमै प्रदान गरिएको थियो । दवाडीले पनि विदेशमा बस्ने नेपाली एवं अन्य सहयोगि मनकारी दाताहरुसँग संकलन गरेको रकम मगरलाई दिएको बताईएको छ ।