logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

बसले ठक्कर दिँदा उखु बोकेको टायरगाढाका चालक गम्भीर घाईते, दुईघण्टापछि दुईतर्फी खुल्यो राजमार्ग


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

नवलपुर – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा उखु बोकेको टायरगाढालाई बसले ठक्कर दिँदा टायरगाढा चालक गम्भीर घाईते भएका छन् ।

आज (वुधवार) बिहान पौने ६ बजेतिर नवलपुरस्थित प्रहरी कार्यालयदेखि पश्चिमतर्फ प्रदेश ३–००१ ख ०७९७ नम्वरको शुभतारा डिलक्स बसले हरिवनस्थित चिनी मिलमा उखु लिएर जाँदै गरेको टायरगाढालाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाईते भएका टायरगाढा चालक लालबन्दी नगरपालिका १ कै ३५ वर्षीय बजरंगी महतोलाई नवलपुरमा सामान्य उपचारपश्चात काठमाण्डौं रेफर गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले उज्यालो अभियानलाई जानकारी दिए ।

दुर्घटनामा एउटा राँगो चोटग्रस्त भई गम्भीर घाईते भएको छ भने अर्को सामान्य रहेको प्रहरीले जनाएको छ । सो दुर्घटनापछि एकतर्फी रुपमा सञ्चालन भएको राजमार्ग उखु, टायरगाढा र घाईते राँगो हटाएपछि दुर्घटनापछि केहीबेर अघि (बिहान ८ बजेतिर) बाट दुईतर्फ रुपमा खुलाइएको प्रहरी निरीक्षक थापाले बताए ।

चिनी मिल सञ्चालनमा आएपछि अहिले किसानहरुले टायरगाढा, ट्याक्टर र ट्रकमा धमाधम उखु ढुवानी गरिरहेका छन् । त्यसरी उखु लाँदा सवारीको क्षमता भन्दा अत्यन्त बढी लोड गरिँदा बर्सेनि यसरी दुर्घटना हुँदै आएको छ ।