बागमतीस्थित कर्मैया बर्थिङ सेन्टरमा बन्ने अस्पतालको शिलान्यास गर्दै संविधान सभा सदस्य हरि उप्रेती र बागमती नगरपालिकाका मेयर भरत कुमार थापा । (तस्बिर : उज्यालो अभियान)
हरिवन, – सर्लाहीमा सोमवार एकैसाथ ६ स्थानमा १५ बेड (शैय्या) को आधारभूत अस्पताल शिलान्यास गरिएको छ ।
हरिवन, बागमती, बलरा र बरहथवा नगरपालिका तथा चन्द्रनगर र पर्सा गाउँपालिकामा अस्पतालको शिलान्यास गरिएको हो । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित सरकारले सोमवार सर्लाहीसहित देशभरका ३९६ वटा पालिकामा अस्पताल शिलान्यास गर्ने कार्यक्रम तय गरेको थियो ।
सोही कार्यक्रम अनुसार सर्लाहीमा ७ वटा पालिका छनौट भएपनि चक्रघट्टा गाउँपालिकामा भने स्थान विवादले सोमवार अस्पतालको शिलान्यास हुन सकेन् । सरकारले खोरिया स्वास्थ्य चौकीलाई छनौट गरेपनि त्यहाँ विवाद भएपछि सोमवार शिलान्यास गर्न नसकिएको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादवले उज्यालो अभियानसँग बताए ।
गाउँपालिकाको केन्द्र समेत रहेको खोरियामा अहिले पनि स्वास्थ्य चौकी रहेकाले त्यहाँ अस्पताल नबनाई अन्यत्र बनाउनु पर्ने केही पक्षका व्यक्तिहरुको माग छ । केन्द्रबाट निर्णय भएर आएकाले हामीले खोरियामै अस्पताल शिलान्यास गर्ने तयारी गरेका थियौँ तर अन्यत्र बनाउनुपर्छ भन्दै विरोध भएपछि कार्यक्रम गर्न सकेनौँ, गाउँपालिका अध्यक्ष यादवले भने । चक्रघट्टा वर्तमान सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको गाउँ समेत हो ।
मन्त्री यादव सर्लाहीको ३ नम्वर क्षेत्रका संघीय सांसद समेत हुन् । चक्रघट्टा बाहेक अरु ६ ठाउँमा भने सबै सरोकारवालाहरुको उपस्थितिमा अस्पतालहरुको शिलान्यास गरिएको छ । हरिवन नगरपालिकाको सासापुर स्वास्थ्य चौकी परिसरमा मेयर गणेश प्रसाद प्रसाई आफैले अस्पतालको शिलान्यास गरे । हरिवन नगरपालिका ४ का वडाध्यक्ष धनबहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्त लगायत सहभागी भए ।
यस्तै बागमती नगरपालिकास्थित कर्मैया बर्थिङ सेन्टर परिसरमा संविधान सभा सदस्य हरि उपे्रतीले अस्पतालको शिलान्यास गरेका छन् । बागमतीको सो कार्यक्रममा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रती, मेयर भरत कुमार थापा लगायत उपस्थिति थिए ।
बरहथवा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा मेयर देवानन्द महतो, चन्द्रनगर गाउँपालिकाको चन्द्रनगर स्वास्थ्य चौकी परिसरमा प्रदेश सांसद उपेन्द्र महतो, पर्सा गाउँपालिकाको नारायणपुर स्वास्थ्य चौकी परिसरमा पूर्व मन्त्री एवं सर्लाहीको २ नम्वर क्षेत्रका संघीय सांसद महेन्द्र राय यादव र बलरा नगरपालिकाको प्राथमिक स्वस्थ्य केन्द्रको परिसरमा मेयर अभयकुमार सिंहले अस्पतालको शिलान्यास गरेका सम्वन्धित पालिकाहरुले जनाएका छन् ।
सर्लाहीमा बन्ने सबै १५ बेडका अस्पतालका लागि १८ करोडको हाराहारीमा कुल बजेट आउने छ । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ ।