logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

बलात्कारीलाई फाँसीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र


  • उज्यालो अभियान

ज्ञापन पत्र बुझाएपछि जिल्ला प्रशासन कार्यालयमा सामूहित तस्बिर खिचाउँदै महिला अधिकारकर्मीहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – मेची–महाकाली बुहारी संयुक्त आवाज सर्लाही शाखाले बर्दिवास घटनालाई लिएर हिजो (बिहिवार) जिल्ला प्रशासन कार्यालय मलंगवामा ज्ञापन पत्र बुझाएको छ ।

६ वर्षकी बालिका गुलाब खातुनको हत्या र न्यायपूर्ण प्रदर्शनमा मारिएका सन्जय न्यौपानेको मृत्यु प्रकरणको निष्पक्ष छानबिन र दोषी उपर कडा कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको मेची–महाकाली बुहारी संयुक्त आवाज सर्लाहीकी संयोजक रमा कुमारी काफ्लेले जानकारी दिईन् ।

ज्ञापन पत्रमा नेपालको विद्यमान कानुन र प्रशासनीक संरचना व्यवहारमा पीडित मैत्री नदेखिएको बरु पीडक मैत्री देखिएको उल्लेख छ । हरेक हत्या तथा बलात्कारको घटनामा अभियुक्तले उन्मुत्ति पाउने र पीडित पक्ष न्यायको लागि रुदै सडकमा हिँड्नु पर्ने अवस्था रहेको पनि विज्ञप्तीमा भनिएको छ ।

अभियुक्तले पैसा र पहुँचको आधारमा खुलेयाम उन्मुत्ति पाउने दुर्भाग्यपूर्ण अवस्था देशमा रहेको भन्दै मेची–महाकाली बुहारी संयुक्त आवाजले चिन्ता समेत व्यक्त गरेको छ । कानुन कार्यान्वयन हुने भए निर्मला पन्ताको हत्यारा कहाँ छन् ? सुस्मिताको हत्याराहरु पूर्पक्षको लागि थुनामा छन्, त्यसपछि करुणा, सम्झना, सन्जा र गुलाब खातुनले किन ज्यान गुमाए ? यसको उत्तर राज्यसँग हुनैपर्छ ।

सभ्य समाजमा यस्ता जघन्य अपराधको घटना कल्पना सम्म पनि गर्न सकिन्न तसर्थ बलात्कारीलाई फाँसी नै होस् नभए सर्वस्व सहित आजिवन कारावास को सजास होस् । विज्ञप्तीमा भनिएको छ । विज्ञप्ती बुझाउन सो समितिका ११ जना सदस्य सदरमुकाम मलंगवा पुगेका थिए ।

यसैबीच सर्लाही युवा सञ्जालले बर्दिवास घटनामा ज्यान गुमाएकी बालिका र युवकको सम्झनामा बिहिवार हिजो साँझ बरहथवास्थित नेपाल बैंक अगाडि दीप प्रज्वलन गरेको छ ।