सांकेतिक तस्बिर ।
लालबन्दी – मंगलवार साँझ सर्लाहीको दुई स्थानमा भएका मोटरसाइकल दुर्घटनामा एक बालकसहित ३ जना गम्भीर घाईते भएका छन् ।
नवलपुर–मलंगवा सडक अन्तर्गत कविलासी नगरपालिका ७ सिरसियामा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाईते भएका ईलाका प्रहरी कार्यालय हरिपुर जनाएको छ । साँझ सबा ६ बजेतिर नवलपुरबाट सदरमुकाम मलंगवातर्फ गइरहेको प्रदेश २–०३–००१ च १८०८ नम्वरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३० एच १७३२ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
सो दुर्घटनाका घाईते मोटरसाइकल चालक कविलासी नगरपालिका ३ का २२ वर्षीय सरोज कुमार यादव र मोटरसाइकल पछाडि सवार १५ वर्षीय दीपेश साहलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार पश्चात न्यूरो अस्पताल वीरगञ्ज रेफर गरिएको छ । ठक्कर दिने पिकअप र त्यसका चालक प्रहरी नियन्त्रणमा लिएका छन् । हरिपुर प्रहरी मातहत हरिपुरकै भित्री सडक खण्डमा केही दिनअघि भएको सवारी दुर्घटनाका गम्भीर घाईतेको उपचारका क्रममा हिजो मात्रै न्यूरो अस्पताल वीरगञ्जमा मृत्यु भएको थियो ।
यस्तै साँझ पौने ७ बजेतिर गोडैता नगरपालिका ७ मा बहादुरपुर तर्फ गइरहेको बीआर ३० आई ७४२१ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँन जाँदा चालक घाईते भएका छन् । घाईते चालक गोडैता नगरपालिका १ का ४५ वर्षीय अवधेश कुमार यादवको जिल्ला अस्पताल मलंगवामा उपचार चलिरहेको छ ।