logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सुनसान छन् स्थानीय तहहरु


  • उज्यालो अभियान

कौडेना गाउँपालिकाको कार्यालय ।

हरिवन – सर्लाहीका सबैजसो स्थानीय तह र सरकारी कार्यालयहरु हिजोआज सुनसान छन् ।


प्रशासन, नापी र मालपोत बाहेक अन्य कार्यालयहरुमा सेवाग्राहीको खासै उपस्थिति छैन् । उत्तरी भेगस्थित हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालले अहिले सामान्य किसिमका नियमित कामहरु मात्रै भइरहेका उज्यालो अभियानलाई जानकारी दिए । जेठसम्मको कार्य तालिका बनाएर विकास निर्माण लगायत सबै योजनाहरु पूरा गर्ने गरी तीहार, छठ सक्किए लगत्तै मंसिरबाट कामलाई गति दिइने उनले बताए ।


दशैँको बिदा सकिएर कात्तिक १२ गतेबाट नै कार्यालयहरु खुल्न थालेका भएपनि जिल्लाको अधिकांश कार्यालयमा कर्मचारीहरु नियमित रुपमा उपस्थित भएका छैनन् । दक्षिणी क्षेत्रमा पर्ने बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या यादवले पालिकाबाट योजनाहरु सुरु नभएको र गाउँपालिकाले प्रदान गर्ने सेवा लिन आउने सेवाग्राहीको संख्या पनि न्यून रहेको बताए ।


यादवका अनुसार अहिले कार्यालयबाट जेष्ठ नागरिकहरुलाई खाता खोलाउनका लागि बस्तीमै कर्मचारी खटाउने, विभिन्न योजनाको टेण्डर प्रक्रिया अघि बढाउने लगायतका कामहरु भइरहेका छन् । बैंक खाता खोलाउन बनाइएको कर्मचारीको टिमलाई अहिले गाउँ–गाउँमा खटाइएको बसबरिया गाउँपालिकाले जनाएको छ ।


बन्दाबन्दी र निषेधाज्ञापछि कार्यालय खुल्दादेखि नै भीडभाड बढेको नागरिकता वितरण गर्ने प्रशासन, जग्गाको कारोवार हुने मालपोत, नापी लगायतका कार्यालयहरुमा भने अहिले पनि अत्यधिक चाप रहेको छ ।
ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले ईश्वरपुर नगरपालिकाभित्र भने विभिन्न सडक कालोपत्रे लगायतका कामहरु भइरहेका बताए । उनले चालू योजनाहरुको अनुगमन भइरहेको र तीहार छठपछि अझ कामलाई प्रगति दिईने बताएका छन् ।