आइतवार विद्यालय परिसरमा जम्मा भएका असन्तुष्ट अभिभावक । (तस्बिर : उज्यालो अभियान)
ब्रम्हपुरी – सर्लाहीको दक्षिणी भेगस्थित ब्रम्हपुरी गाउँपालिका–३, भेल्हीमा रहेको सुवेदार नन्दलाल जनता माध्यमिक विद्यालयमा शिक्षकको सरुवाको विषयले विवाद सिर्जना भएको छ ।
गाउँपालिकाले विद्यालयका प्रधानाध्यापक युगेश्वर राउतसहित ५ जना शिक्षकको एकैपटक सरुवा गरेपछि कक्षा १२ सम्म पढाई हुने सो विद्यालयमा विवाद बढेको हो । १२ सय बढी विद्यार्थी अध्ययरत त्यस विद्यालयका केही अभिभावकले शिक्षक सरुवामा विरोध जनाएका छन् । असन्तुष्ट अभिभावक आइतवार विद्यालयमै जम्मा भएका थिए ।
विद्यालयबाट सरुवा गरिएका शिक्षकहरुले अनियमिततामा सघाउ नगरेको र विभिन्न निर्माणका काम गर्दा कमिसन नदिएकाले पूर्वाग्राही किसिमले आफूहरुको सरुवा गरिएको आरोप लगाएका छन् । प्रधानाध्यापक राउतले गाउँपालिकाबाट अरु १९ जना शिक्षकको तलब निकासा भएपनि आफ्नो रोकेर राखिएको बताए ।
उनले भेल्हीबाट आफूभन्दा कनिष्ट शिक्षक प्रधानाध्यापक रहेको ब्रम्हपुरीस्थित एक विद्यालयमा आफ्नो सरुवा गरिएको गुनासो समेत पोखे । प्लसटुमा एउटा पनि दरबन्दी नरहेको विद्यालयमा प्रावी तहका तीन जना र मावी एवं निमावी तहका एक÷एक जना शिक्षकले कक्षा ११, १२ मा समेत पढाउँदै आएका थिए । उनीहरुको सरुवाले प्लसटु समेत प्रभावित बनेको छ ।
विद्यालयका संरक्षक राजु चौधरीले गाउँपालिका अध्यक्षले भेल्हीको विद्यालयलाई जहिल्यै पनि विभेदको दृष्टिले हेर्दै आएको आरोप लगाएका छन् । भवन, शौचालय निर्माण लगायतका काममा कमिसन नदिएको र अनियमिता विरुद्ध बोलेको भन्दै प्रअ लगायत महत्वपूर्ण विषयको पठनपाठन गराउने शिक्षकलाई सरुवा गरिएको उनले बताए ।
तर ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद कुमार साहले भने संघीय सरकारको परिपत्र अनुसार दरबन्दी मिलान गर्ने क्रममा शिक्षकहरुलाई एक विद्यालयबाट अर्को विद्यालयमा खटाइएको बताए । उनले भेल्हीको माविलाई आफूले कुनै विभेदले नगरेको र त्यहाँ कमिकमजोरी र गुनासो आएकाले प्रअ लगायत शिक्षकको सरुवा गरिएको दावी गरेका छन् । गाउँपालिका अध्यक्ष साहले आफूले विद्यालयमा योजना पार्दा कमिसन नमागेको समेत बताए ।