logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

वर्षाले कच्ची घर भत्कायो, मनकारीले नयाँ पक्की घर बनाइदिए


  • उज्यालो अभियान

घर हस्तान्तरण कार्यक्रमको दीप प्रज्वलन गरी उद्घाटन गर्दै नेकपा अध्यक्ष रेवती पन्त । तस्बिर : उज्यालो अभियान

हरिवन – वर्षात्को पानीले घर भत्किएर बिचल्लीमा परेका सर्लाहीको हरिवन नगरपालिका–८ का मोतिलाल विकको परिवारलाई सामाजिक सेवामा तल्लिन व्यक्तिहरुको पहलमा नयाँ घर निर्माण गरिएको छ ।

सामाजिक अभियन्ता रन्जिता गुरुङको विशेष पहलमा १४ जना परिवार सदस्य रहेका विक परिवारका लागि १२ लाख ३७ हजार ३८१ रुपैयाँको लागतमा जस्ताले छाएको ४ कोठे पक्की घर निर्माण गरिएको हो । अन्य मनकारी व्यक्तिहरुको समेत सहयोगमा निर्मित घर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तको प्रमुख आतिथ्यता एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईको विशिष्ठ आतिथ्यतामा विक परिवारलाई बिहिवार साँझ अबेर एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

घर निर्माण गर्न अभियन्ता गुरुङले ४ लाख १३ हजार २८२ रुपैयाँ, लालबन्दी निवासी कुमार खतिवडा र दोलखा घर भएका दीपेन्द्र दाहालले डेढ÷डेढ लाख रुपैयाँ सहयोग गर्नुभएको घर निर्माणमा खटिनु भएका अर्का अभियन्ता निशान थापा मगरले जानकारी दिए । उनका अनुसार घर निर्माणका लागि ९३ हजार ६ सय रुपैयाँ नगद र ४ लाख ३० हजार ५ सय रुपैयाँ बराबरको विभिन्न जेन्सी सरसामान सहयोग स्वरुप प्राप्त भएको छ ।

सामाजिक अभियन्ता र मनकारी व्यक्तिहरुको सहयोगमा पक्की घर पाएपछि वर्षाले घर भत्काएपछि विस्थापित भएका अति विपन्न र रोगव्याधबाट थलिएको विक परिवार खुसी भएका छन् ।