logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ब्रम्हपुरी गाउँपालिकाको हरहिसाब सार्वजनिक गर्न माग गर्दै ज्ञापन पत्र


  • उज्यालो अभियान

ब्रम्हपुरी – सर्लाहीको ब्रम्हपुरी गाउँपालिकाको हरहिसाब सार्वजनिक गर्न माग गर्दै नेपाली काँगे्रसका नेताहरुले ज्ञापन पत्र बुझाएका छन् ।

सो पार्टीका नेताहरुले बिहिवार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव नारायण कापरलाई भेटेर हरहिसाब खोजी गरेका हुन् । आर्थिक वर्ष २०७३÷०७४ देखि अहिलेसम्म गाउँपालिकाले गरेको आम्दानी तथा खर्चको विवरण माग गरिएको काँगे्रसका नेता कृष्ण राय यादवले जानकारी दिए ।

ज्ञापन पत्रमा सडक निर्माण, ह्याण्ड पाइप खरिद, विद्यालय भवन निर्माणमा भएको खर्च, पोखरीबाट भएको आम्दानी, गाउँपालिकाले भाडामा लिएर चलाइरहेको गाडीको भाडादर, गाउँपालिका र वडाका सवारी साधनमा भएका इन्धन खर्चको हरहिसाब माग गरिएको छ । रीतपूर्वक माग गरिएको खर्चको विवरण तीन दिनभित्र उपलब्ध नगराए गाउँपालिका कार्यालयमै तालाबन्दी गर्ने काँगे्रसले चेतावनी दिएको छ ।

यस्तै बिहिवार नै तत्कालिन नेकपा एमाले र काँगे्रसका नेताहरुले संयुक्त रुपमा बेग्लै निवेदन दर्ता गर्दै ब्रम्हपुरी गाउँपालिका वडा नं. ३ भेल्हीमा वडा कार्यालयले गरेको खर्चहरु सार्वजनिक गर्न माग गरेका छन् ।

पछिल्लो समय सर्लाहीका गाउँपालिका तथा नगरपालिकाहरुमा अनियमितता बढेको भन्दै विभिन्न क्षेत्रबाट पारदर्शिताको माग उठ्दै आएको छ ।